तराई डुब्दा पनि मधेश नझरेका मधेशी नेताहरु अव के गर्लान ?

सुरेन्द्र पाण्डे

साउनमा बाढी आएर मधेसमा डुवान भयो । कुनै पनि आफूलाई मधेसप्रेमी भन्ने दलहरु जनताको उद्धार र राहतमा जुटे रु एमालेले सबै जिल्लामा आफ्ना एक–एक वटा जनवर्गीय संगठन र स्थानीय पार्टी कमिटीलाई परिचालन गरेर राहात र उद्धारमा जुट्यो । मधेस डुब्दा मधेसी दलका साथीहरु त काठमाण्डौंमा हुनुहुन्थ्यो । एमालेले १ करोड रकम जुटाएर प्रधानमन्त्री राहत कोषमा दिइसकेको छ ।

जनताले देखेका छन् एमालेले मधेसमा के गरिरहेको छ भनेर । राष्ट्रिय राजनीतिमा कुन पार्टीको हैसियत र भूमिका के छ भन्ने कुरा जनतालाई राम्रोसँग थाहा छ । काठमाण्डौंसम्मको पहुँच जनतालाई चाहिएको छ । केही समयअघि हामीले सर्भे गर्दा एमाले पहिलो शक्ति हुने देखिएको छ । संगठनका हिसावले पनि एमाले जित्ने पार्टी हो । राम्रा र जित्ने मान्छेलाई एमालेले उम्मेदवार बनाएको छ ।

तराईमा पार्टी मात्र नभई व्यक्तिले पनि निर्वाचनमा बढी प्रभाव पार्छ । त्यो मधेसको मनोविज्ञानलाई पनि एमालेले राम्रोसँग बुझेको छ । त्यहाँका जनताले स्थानीय लोकप्रिय ब्यक्तिलाई हेर्दछन् ।

जस्तो– मनोविज्ञान र बसोवास छ, सोहीअनुसार टिकट दिने काम एमालेबाट भएको छ । जनशक्ति परिचालन हिसावले पनि भत्किएको र टुटुेको ठाँउमा पार्टीलाई मर्मत गरिएको छ । पार्टी संगठन बनाउने बेला पनि यो हो । एमालेले आफ्नो किसिमको योजना बनाइरहेको छ । एमालेले मधेसमा चुनाव हार्छ भनेर टिप्पणी गरेका छन्, त्यसमा सत्यता छैन ।

आगामी असोज २ गते १२९ वटा स्थानीय तहमा हुने तेस्रो चरणको निर्वाचनमा प्रदेश नम्वर २ मा एमाले नै पहिलो शक्ति हुन्छ । मधेसका ८ जिल्लामा ४० देखि ४५ वटा स्थानीय तहमा एमालेले सजिलै जित्छ । त्यसबाहेक पनि केही स्थानीत तहमा हामीले थोरै मेहनत गर्दा पनि जित्न सक्ने देखेका छौं । पूर्वपश्चिम राजमार्ग क्षेत्रका अधिकांश स्थानीय तहमा एमालेको पडक छ ।

एउटा जिल्लाका कम्तिमा पनि ५ वटा स्थानीय तहका हाइवे वरपर छन् भने ८ वटा जिल्लामा गरी ४० वटा स्थानीय तह हामी जित्छौं । त्यहाँ अरु पार्टीका पनि उम्मेदवार हुन्छन् । हरेक पार्टीको भोट विभाजित हुन्छ । त्यो सबैलाई मिहीन ढंगले विष्लेषण गर्दा एमाले नै पहिलो पार्टी हुन्छ ।

एमाले र मधेस

एउटा कुरा के भने भने तराई मधेशका जनता यो सधैंका आन्दोलन झैंझगडा रुचाउँदैनन् । मधेस अशान्त हुँदा कयौं बर्ष पछाडि धकेलिने अवस्था आएको कुरा स्वयं मधेसका जनताले बुझेका छन् । जनताले विकास र सम्वृद्धि चाहेका छन् र अर्को कुरा सम्वृद्धि र प्रगति भनेको आफु जिउँदो भएकै बेलामा देख्ने हो । अब त देश बनाउनुप¥यो नि । देश बनाउन चाँहि कमजोर टुटेफुटेका कुनै कार्य क्षमता नभएका, परनिर्भरता र लम्पसारवादी सोच भएकाबाट कसरी सम्भव छ रु देश बनाउन एउटा शशक्त ठूलो पार्टी चाँहियो । यो कुरा जनताले खोजिरहेको छ र राष्ट्रिय आवश्यकता पनि हो । अब जहाँसम्म एमाले मधेस विरोधी भन्ने कुरा छ त्यसमा एक प्रतिशत पनि सत्यता छैन् ।

एमाले सरकारमा रहँदा मधेसी प्रत्येक जिल्लामा रिङरोडसहित सडक बनाउने गरी पचासौं करोड रकम हामीले छुट्टाएका छौं । जनता आवास कार्यक्रम हामीले लागु गरेका छौं । मधेशी जनताको हक र हितका पक्षमा बोल्ने पार्टी नै एमाले हो ।

मधेसका कुसंस्कार र कुरीतिलाई, विभेदलाई संरक्षण गर्ने, हरुवा चरुवा पाल्ने, इनार छुन नदिनेहरु मधेसी पक्षधरता हुने एमाले बिरोधी हुने हुन्छ रु हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउनुहुँदैन त्यसले मधेसका स्थानीय भोजपुरी, मैथिली, अवधी भाषाहरु हराउँछन्, मर्छन् भनेर बिरोध गर्ने एमाले मधेश विरोधी हुन्छ रु हामीले मधेशी जनता बिरोधी संविधान संशोधन प्रस्तावलाई असफल बनाएका छौं ।

अघिल्लो निर्वाचनको मनोवैज्ञानिक असर

पहिलो संविधानसभाको निर्वाचनमा माओवादीले ल्याएको परिणामको प्रभाव सबैतिर प¥यो । अहिले ६ वटा प्रदेशमा भएको निर्वाचनमा सत्तामा बसेका दुई पार्टीभन्दा एमाले ठूलो पार्टी भएर आयो । विपक्षमा बसेको पार्टीका विरुद्ध भएका सबै खाल जालझेलका बावजुद पनि एमालेले हासिल गरेको जनमत सानो छैन । अब राष्ट्रिय राजनीतिको पहिलो शक्ति एमाले नै भएको कारणले अरु पार्टीलाई मत दिएर कुनै पनि अर्थ छैन । अरूलाई मत दिनु भनेको मत खेर फाल्नु हो भन्ने भाव जनतामा पैदा हुन्छ ।

मतको ट्रेन्ड र जनताको झुकावले अबको संसदीय चुनाव र प्रदेशको चुनावमा पनि एमाले नै पहिलो शक्ति हो भन्ने निश्चित छ । अब सानो पार्टीमा लागेर वा मत दिएर त्यसको औचित्य रहँदैन भन्ने कुरा जनताले बुझेका छन् ।

सम्भावित ध्रुवीकरण

हामीले कांग्रेस–माओवादीको गठवन्धनलाई धेरै ठाउँमा हेर्‍यौं र झेल्यौं पनि । हामीले पनि गठबन्धन गर्‍यौं। तर, निर्वाचन परिणामहरुले के देखाए भने बहुदलीय राजनीतिक प्रतिस्पर्धामा दलीय गठवन्धनलाई जनताले रुचाएनन् ।

भरतपुर महानगरमा माओवादी अध्यक्ष प्रचण्डकी छोरीलाई जिताउन जर्वजस्ती गरिएकाले सफल देखिएको उनीहरुलाई लागेको होला, त्यो सत्य होइन । धनकुटाजस्तो जिल्लामा कांग्रेस माओवादी मात्रै होइन, सारा जनजाति पार्टीसहितका ७ राजनीतिक दलले हाम्रा विरुद्ध गठवन्धन गरे । तर, उनीहरूको लज्जाजनक हार भयो । हामीले क्लीन स्पीप गर्‍यौं। यो नतिजाको गहिरो अध्ययनले के देखाउँछ भने जनता किन एमाले प्रति आर्कषित छ रु

राष्ट्रिय अन्तरराष्ट्रिय रूपमा घेरावन्दी गर्दा पनि त्यसका बिरूद्धमा जनता अभिमत मार्फत बिरोध गरेको देखियो । कारण प्रस्ट छ, एमालेले लिएका देशप्रतिका नीति र अंगीकार गरेको विकास र सम्वृद्धिको योजना, राष्ट्रिय हित, अखण्डता र स्वाधीनताको पक्षधरता नै हो । प्रदेश नम्वर २ पनि ठ्याक्कै यस्तै नियम लागु हुन्छ ।

मधेसमा सबैभन्दा बढि बजेट र विकास दिने एमाले नै हो । अरूले गफ गरेका छन् । द्वन्द्व मच्चाएका छन् । हामीले शान्ति, विकास र सम्वृद्धि दिएका छौं । अर्को कुरा के छ भने, पार्टी र नेताले गठवन्धन गर्दैमा जनताले भोट दिँदैनन् ।

विगतमा के देखियो भने केही स्थानमा गठवन्धन गरेर एमालेका बिरुद्धमा आए । जहाँ–जहाँ गठवन्धन भएन त्यहाँ भने सबै मिलेर एमालेलाई गाली र प्रहार गरे । तेस्रो चरणको चुनावमा पनि केही ठाँउमा गठवन्धन गर्ने तर साझा दुश्मन भने एमालेलाई बनाउने हुन सक्छ । वृहत खालको एउटै मोर्चा, एउटै गठवन्धन हुने सम्भावना छैन ।

म के देख्छु भने पूर्वपश्चिम राजमार्गभन्दा उत्तर र त्यसको १० किलोमिटर तलसम्म एमाले नै बलियो छ । १० किलोमिटरभन्दा तल मधेसी दलको प्रभाव छ । त्यहाँ हामीले जति जित्छौं त्यो प्लस नै हुन्छ । मधेसी दलले कांग्रेसलाई प्रतिस्पर्धी ठानेका छन् कोर मधेस क्षेत्रका । त्यो भएपछि मधेसी दल र कांग्रेसको गठवन्धनको सम्भावना कम छ । मधेसमा माओवादीको जनमत छैन ।

साविक तमलोपा र अन्य पार्टीका नेताहरुले के भनिरहेका छन् भने हाम्रो लडाइँ र प्रतिस्पर्धा मूलरूपमा कांग्रेससँग हो । त्यसैले कांग्रेससँग मिलेर कुनै लाभ हुँदैन । त्यहाँ त एमालेसँग मिल्दा लाभ हुन्छ भनेका छन् । मिलेर जाऔं न भन्ने प्रस्ताव पनि आएको छ । त्यस हुनाले यी सबै सम्भावनालाई एमालेले ध्यानमा राखेको छ । एमाले सकारात्मक छ ।

कांग्रेसको समस्या

नेपाली कांग्रेस दिनानुदिन ओरालो लाग्दै गएको शक्ति हो । कांग्रेसलाई नेतृत्व गर्ने नेताको पनि अभाव देखे मैंले । कांग्रेसमा कुशल नेतृत्वको संकट छ । कांग्रेस घट्ने क्रममा छ । कांग्रेसको गन्तव्य पनि छैन । उद्देश्य पनि छैन । कार्यक्रम पनि छैन ।

राष्ट्रिय जल्दाबल्दा विषयमा कांग्रेसले लिने नीति र अडान पनि अस्पष्ट छन् । पूँजीवादी खालको दृष्टिकोण बोक्ने पार्टीहरू अन्र्तराष्ट्रिय समुदायलाई भेटे भने तिमीहरू र हामीहरू एकै हो भन्छन् । समाजवादी कम्युनिष्ट शक्तिहरूसँग मुकाविला गर्न गाह्रो भएपछि अहिले हामी पनि त प्रजातान्त्रिक समाजवादी हौं भन्छन् । सामाजिक न्यायको बाटो पनि हिँड्न नखोज्ने, एमालेको देखासिकी गरेर घिस्रिएर हिँड्नुपर्ने अवस्थामा कांग्रेस छ । कांग्रेस आफ्ना नीतिगत कारणले पनि असफल भैरहेको छ ।

विश्व पूँजीवाद पनि सामाजिक न्यायको बाटोलाई उपेक्षा गरेर जान सकिँदैन भन्ने अवस्थामा पुगेको छ । जनता आवास कार्यक्रम, वृद्ध भत्ताको कार्यक्रम, स्वास्थ्य बीमाको कार्यक्रम ल्याउने काम त एमालेले गरेको हो । शिक्षामा र राजनीतिक प्रतिनिधित्वको सहभागितामा पनि एमालेकै नीति लागु छन् । अहिले नै जुन सामाजिक सुरक्षा ऐन पास भयो, त्यो कन्सेप्ट ल्याउने एमाले नै हो । कांग्रेस जनताबाट कर्नरमा परेको छ । त्यही भएर माओवादीसँग मिलेर भए पनि यसो केही साख बचाउन सकिन्छ भनेर लागेको छ । यसमा मात्र स्वार्थ भन्दाबाहेक केही छैन ।

कांग्रेस राष्ट्रिय हितमा उभिँदैन । कुनै पनि मुलुक आकारका हिसावले सानो ठूलो हुन सक्छ, तर सार्वभौमसत्ता र स्वाधीनता उत्तिकै महत्वपूर्ण हुन्छ । यस्ता विषयमा पनि कांग्रेस खेल्न खोज्छ, लम्पसार भइदिन्छ, त्यो जनताले रुचाएका छैन्न ।

तर एमालेले यी सबै विषयलाई आफ्नो शीरमा राखेको छ । अझै एमालेले हरेक जनतालाई व्यवसायिक बनाउने र उत्पादनसँग जोड्ने अभियानमा छ । व्यापार व्यसायको प्रोत्साहन गर्न र नीतिगत रुपमा समेत सहजीकरण गर्ने क्रममा एमाले छ ।

कांग्रेस– माओवादी गठबन्धनको लाभ

यसमा कांग्रेसले भन्दा बढी लाभ माओवादीले नै उठाएको देखिन्छ । र, यो क्रम बढ्दै गयो भने माओवादी प्लस हुन्छ, कांग्रेस माइनस हुन्छ । जस्तो भनौं न, भरतपुर महानगरपालिकामा कांग्रेस एक्लै लडेको भए निर्वाचन जित्न सक्थ्यो । पार्टी संगठन चलाएमान हुन्थ्यो । तर, कहिल्यै नजित्ने माओवादीलाई जिताएर कांग्रेसले माओवादीको भागमा १ महानगरपालिका थपिदियो । कांग्रेस प्लस हुँदा पनि माओवादी माइनस हुन्छ ।

के चाँहि सत्य हो भने केही ठाउँ जहाँ हामी थोरै मतले जित्ने स्थानीय तहहरूमा गठवन्धनको सानो कार्यकर्ताको भोटले हामीलाई हराएको छ । ५र७ सयले हामीले जित्ने ठाउँहरुमा हामीलाई यो गठवन्धनले हराएको छ । हामीले पनि यो बारेमा सोच्नुपर्ने बेला आएको छ ।

माओवादी कार्यकर्तालाई पनि कांग्रेसको रुखमा भोट दिन र एलान्यस गर्न रूची छैन, तर नेतृत्वले जर्वजस्ती गरेको छ । स्थानीय रुपमा एमालेसँग नै तालमेल गर्ने चाहना उनीहरु राख्छन् ।

यो कुराको पुष्टि कसरी हुन्छ भने स्थानीय तहमा कांग्रेससँग गठवन्धन गरेको माओवादीले जिसस बनाउँदा भने एमालेसँग मिलेको देखिन्छ । कहिले एमालेसँग मिलेर कहिले कांग्रेससँग लाभ लिने माओवादीका बारेमा कांग्रेस र एमालेभित्रै गम्भीर छलफल हुन आवश्यक छ । माओवादी स्वार्थका लागि हामी किन हतियार बन्ने रु यसको अन्तिम घाटा त कांग्रेसलाई हुन्छ दीर्घकालीन रूपमा हेर्दा । घाटा कांग्रेसलाई भयो भने माओवादी पहिलो पार्टी हुने सम्भावना छैन, यसले निश्चिय नै फाइदा एमालेलाई नै हुन्छ । अब माओवादीको प्रतिस्पर्धी कांग्रेस हो, एमाले होइन ।

सतहमा हेर्दा कांग्रेस र माओवादीवीचको गठबन्धनले एमालेलाई २५र२६ स्थानीय तहमा हराएको छ, यो सत्य हो । माओवादी र कांग्रेस अझै केही समयसम्म मिलेर चुनावी प्रतिस्पर्धामा हाम्रा विरूद्धमा आए भने ध्रुवीकरण शुरू हुन्छ ।

अब नयाँ ध्रुवीकरण हुन सक्छ

अहिलेको सत्ता गठवन्धन भौतिक र कृत्रिम हो, जब लामो समयसम्म यो जान्छ अनि धुव्रीकरण शुरू हुन्छ । त्यो कसरी हुन्छ भने माओवादीभित्रका सबै कम्युनिष्ट र वाम राजनीतिक आन्दोलनका व्यक्तिहरू कि त कांग्रेस–कांग्रेस जस्तो देखिनुपर्‍यो वा माओवादी कम्युनिष्ट होइन, कांग्रेसकै जनवर्गीय संगठन हो भनेर त्याग्नुपर्‍यो । माओवादीभित्र भएका, कम्युनिष्ट आन्दोलनमा लामो समय रहेका, विचार र उद्देश्य फरक लिएर हिँडेका कार्यकर्ताले सधैं रुखमा भोट हालिदिनुपर्ने नियति प्रचण्डका कारण भएको कुरा बुझेकै छन् ।

कतिपय माओवादीहरु कांग्रेसपरस्त माओवादीमा विकसित हुन्छन्, कतिपय एमालेमा आउँछन् । कांग्रेसमा पनि ठ्याक्कै यही नीति लागु हुन्छ । कि त यसो अलिअलि ज्यानमा माओवादीको गन्ध बोकेर बस्नुपर्‍यो , होइन भने लोकतान्त्रिक विधि र पद्दतिमा विश्वास गर्ने र राष्ट्रवादी शक्ति एमालेमा आउनुपर्‍यो ।

हिजो माओवादीको ‘कांग्रेस छानीछानी’ भन्ने नाराबाट पिल्सिएका र जीवनभर रुखमा भोट हालेका कांग्रेसले गौरवशाली पार्टी भन्दै माओवादीलाई सधैं भोट हालेर बस्नुपर्ने अवस्था आउने भयो । त्यसैले यो गठवन्धन अझै बढी जाँदा कांग्रेस माओवादी दुवै च्यातिन्छन् ।

म त के भन्छु भने यो गठवन्धन अझै लामो समयसम्म जानुपर्छ, ता कि सच्चा कांग्रेस र सच्चा कम्युनिष्ट माओवादीहरु त्यहाँबाट निराश बनेर निष्कृय बनुन् ।

एउटा कुरा के छ भने जहाँ गठवन्धनको उम्मेदवार उठ्छ, त्यो ठाँउमा सर्मथक पार्टीको संगठन लगभग प्यारालाइसिस नै हुन्छ । भरतपुर महानगरमा माओवादीलाई सर्मथन गर्दा कांग्रेसको संगठन शिथिल र मरेको जस्तै भएको छ । कारण, माओवादीलाई भोट दिनुपर्ने भएपछि कांग्रेसको राजनीति गरेर के गर्ने रु भन्ने हुन्छ । यो कुरा बुझेर नै दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा हामीले बिराटनगरबाहेक कहीँ पनि गठवन्धन गरेनौं । बिराटनगरको गठवन्धनको पनि औचित्य देखिएन ।

मेरो विचारमा प्रदेश र केन्द्रको चुनावसम्म कांग्रेस र माओवादीको गठवन्धनको प्रयास हुन्छ । कांग्रेस माओवादी गठवन्धनले अब एमालेलाई पहिलो पार्टी बन्न भने रोक्दैन । कहिल्यै पनि शतप्रतिशत मत यता र उता हुँदैन । नेता लाग्नेवित्तिकै सबै जनमत उतै जान्छ भन्ने कुरा होइन । केही असर भने हामीलाई हुन्छ । केही ठाँउमा हामीलाई हराइन्छ भने केही ठाउँमा प्लस पनि हुन्छ ।

अब यी दुई पार्टीका अतित्वमाथि नै संकट आयो । एक्लै जित्न सक्ने र एमालेलाई हराउन सक्ने तागत उनीहरुले गुमाइसकेका छन् । पहिला हामी कमजोर थियौं । माओवादी र अरु राजनीतिक शक्तिसँग तालमेल गरेका थियौं । कांग्रेसले गर्दैनथ्यो । तर, अहिले कांग्रेस खोजेर हिँडिरहेको छ कि तालमेल को कोसँग गर्ने भनेर । यसको अर्थ के हो भने कांग्रेसले आफ्नो शक्ति गुमाएको निष्कर्षमा उ पुगेको छ । दोस्रो पार्टी बनेको स्वीकारोक्ति हो ।

स्थानीय तहको संख्या र सर्वोच्चको फैसला

निर्वाचनमा आफू जित्नका लागि अनुकुल भूगोल तयार गर्ने कांग्रेस माओवादीको मनसायलाई सर्वोच्च अदालतले पनि ल्याप्चे लगाएको देखियो । केही वडा र केही क्षेत्र यताउता पार्दा जित्न सकिन्छ कि भनेर घिड्घिडो सरकारले गरेको देखियो । राजपाको नाममा यो कांग्रेस माओवादीले गरेको षडयन्त्र थियो । यो नीतिगत र संस्थागत धाँधली हो ।

कतिपय पार्टीले उम्मेदवार घोषणा गरेर चुनावमा लागिसकेपछि फेरि स्थानीय तहको संख्या थप गर्ने यो के काइदा हो रु होइन सत्तामा बस्ने जे मन लाग्छ त्यही गर्न पाउने रु कति स्थानीय तहको संख्या बनाउने भन्ने कुरा पुष्पकमल दाहालको दिमागमा जे सनक चल्छ त्यही हुन्छ रु अनि हामी सबैले सिंगो देशले त्यही मानिदिनुपर्ने रु हिजो पो आयोगले गरेको थियो । आयोगका मान्छे चुनाव लड्नेवाला थिएनन् । हामी अहिले नै बिरोध गरेर आन्दोलनमा लाग्ने पक्षमा छैनौं । हामी उम्मेदवार तय गरेर नै जितेर देखाउँछौं ।

अनलाईन खबर डटकम बाट

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com