अब काठमाडौंको ढलबाट पनि बिजुली निस्कने

काठमाडौ,१४ माघ। काठमाडौंमा फोहोरबाट ग्यास र बिजुली निकाल्ने योजना त निकै अघिदेखि सुनिएकै छ । लगानी बोर्डमार्फत विदेशी कम्पनी नै आएर काम थाल्न लागेका छन् । अब काठमाडौंको ढलबाट पनि बिजुली निकाल्ने गरी तयारी थालिएको छ ।

काठमाडौंका घर(घरबाट निस्कने ढल अहिले सीधै खोला र नदीमा मिसाइन्छ । यसले पानीका सबै स्रोत प्रदुषित मात्रै भएको छैन, काठमाडौंको सभ्यतामाथि नै प्रश्न उठेको छ ।

तर, अब योजनाअनुसार काम भयो भने केही वर्षभित्रै काठमाडौंको सबै ढल प्रशोधन गरेर खोलामा मिसाउने काम मात्रै सुरु हुने छैन, त्यसबाट बिजुली पनि निकालिनेछ । ढलबाट बिजुलीको व्यवसायिक उत्पादन भने हुने छैन ।

अहिले काठमाडौंका विभिन्न स्थानमा ढल प्रशोधन केन्द्र निर्माणको काम भइरहेको छ । गोकर्णमा निर्माण सुरु गर्न अध्ययन हुँदैछ ।

अब त्यसमध्ये दुई ठूला प्रशोधन केन्द्रमा ३ वटा विशेष युनिटहरु राखेर ढलबाट बिजुली निकाल्ने योजना छ ।

हाल गुह्येश्वरीमा ढल प्रशोधन केन्द्र निर्माणको काम धमाधम भइरहेको छ भने सल्लाघारी, कोड्कु, धोबीघाट र गोकर्णमा ढल प्रशोधन केन्द्र निर्माणको प्रक्रिया अघि बढेको छ । बिजुली भने धोबीघाट र गुह्येश्वरीबाट मात्रै निस्कनेछ ।

प्रशोधन केन्द्रमा ढल पुगेपछि त्यसलाई विभिन्न चरणमा प्रशोधन गरिनेछ । ढल प्रशोधन गर्दा त्यसबाट ग्यास निस्कनेछ । त्यो ग्यासलाई प्रयोग गरेर बिजुली निकालिने छ

काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० अन्तरगतको आयोजना कार्यान्वयन इकाई पीआईडीले अहिले ४ स्थानमा ढल प्रशोधन केन्द्र निर्माणको काम गरिरहेको छ । यो काम सकिएपछि उपत्यकाका कुनैपनि ढल सीधै खोला वा नदीमा नमिसाइने पीआईडीका प्रवक्ता लिलाप्रसाद ढकालले जानकारी दिए ।

त्यसकै लागि विभिन्न खोला र नदीका कोरिडोरमा ढलका ठूला पाइप बिछ्याउने काम भइरहेको छ । यो काम सकिएपछि काठमाडौंभरिको ढलहरु प्रशोधन केन्द्रसम्म पुग्ने गरी ढल प्रणालीमा जोडिनेछ ।

प्रशोधन केन्द्रमा ढल पुगेपछि त्यसलाई विभिन्न चरणमा प्रशोधन गरिनेछ । ढल प्रशोधन गर्दा त्यसबाट ग्यास निस्कनेछ । त्यो ग्यासलाई प्रयोग गरेर बिजुली निकालिने छ । र, उत्पादित बिजुली प्रशोधन केन्द्रको सञ्चालनमा नै उपयोग गर्ने योजना बनाइएको ढकालले बताए ।

सल्लाघारीमा १ करोड ४० लाख लिटर र कोड्कुमा १ करोड ७५ लाख लिटर ढल प्रशोधन गर्नसक्ने प्लान्ट निर्माण गरिँदैछ । धोबीघाटमा दुई ३ करोड ७० लाख लिटरका दुई वटा र गुह्येश्वरीमा १ करोड ६२ लाख लिटरका दुईवटा प्लान्ट निर्माण गर्न लागिएको छ ।

धोबीघाटको प्रशोधन केन्द्रबाट झण्डै ५ सय किलोवाट र गुह्येश्वरीबाट २४० किलोवाट बिजुली निकाल्ने योजना छ ।

कोरियन कम्पनीले डिजाइन गर्दा सल्लाघारी र कोड्कुको प्रशोधन केन्द्र साना भएकाले त्यसबाट बिजुली उत्पादन सम्भव नदेखिएको ढकालले बताए ।

अहिले पीआईडीले १०१ किलोमिटर खोला नदी किनार क्षेत्रमा ढलको इन्टरसेप्टर निर्माण गरिरहेको छ । त्यसमा अहिलेसम्म जम्मा ५ प्रतिशत मात्रै प्रगति भएको ढकालले बताए ।

पीआईडीले हनुमन्ते, मनोहरा र खसाङखुसुङ खोलाको किनारमा इन्टसेप्टर जोड्ने काम गरिरहेको छ । बागमती, विणुमती, धोबीखोला, मनमतिखोलालगायतमा आधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले काम गरिरहेको छ ।

अहिले पीआईडीअन्तरगत भइरहेको गुह्येश्वरी ढल प्रशोधन केन्द्र निर्माणको काम ४० प्रतिशत सकिएको छ । अन्यमा ५ प्रतिशत मात्रै प्रगति भएको छ ।

पीआईडीले ढल प्रशोधन केन्द्रहरु निर्माण गर्दा अब आधुनिक प्रविधि प्रयोग गरिने बताएको छ । पुरानो प्रविधि प्रयोग गर्दा प्रशोधन केन्द्र आसपासको समुदायलाई दुर्गन्ध आएर समस्या हुने भएकाले अब त्यसो नहुने गरी काम गर्न लागिएको ढकालले बताए ।

‘अब हामी ढललाई पूर्णरुपमा छोपेर भूमिगत रुपमै प्रशोधन गर्छौं, वरपरको समुदायलाई कुनै असर नपर्ने गरी प्रशोधन केन्द्र बन्छन्,’ ढकालले भने, ‘प्रशोधन केन्द्रलाई मर्निङ वाक गर्न सकिने गरी स्वच्छ क्षेत्र बनाउँछौं ।’

पीआईडीले प्रशोधन केन्द्रहरुलाई दुर्गन्धरहित र सफा बनाइने बताएको छ । त्यसका लागि केन्द्रभित्र हरियाली प्रवर्द्धन गर्ने र त्यसलाई पार्ककै रुप दिने ढकाल बताउँछन् ।

विभिन्न स्थानमा प्रशोधन केन्द्र बन्ने विषयलाई स्थानीय बासिन्दाले चित्त नबुझाएको भन्दै उनले खुलारुपमा ढल नछोडिने भएकाले दुर्गन्ध नआउने कुरामा आश्वस्त रहन आग्रह गरे ।

बरु ढलबाट निस्कने ग्यासलाई जम्मा गरेर बिजुली निकालिने भएकाले त्यसले नयाँ प्रयोगलाई पनि प्रोत्साहित गर्ने उनको दावी छ । यो काम सक्न एसियाली विकास बैंकले पीआईडीलाई १ अर्ब ३९ करोड रुपैयाँ ऋण दिएको छ ।

सन् ०१३ मै यो परियोजनाका लागि ऋण सम्झौता भएको थियो । यो परियोजनाले खोलामा ठूला ढलका पाइप बिछ्याए पनि टोल(टोलका ढल प्रणाली सुधार्ने गरी काम गर्ने छैन ।

मेलम्ची आएपछि ढल प्रणालीमा पर्ने पानीको दबावलाई ध्यान दिएर यो काम गर्न लागिए पनि तत्कालै काम सकिने अवस्था पनि छैन ।अनलाइनखबर

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com