आखिर किन हुन्छ विवाद कम्युनिष्ट पार्टी भित्र ?

मुलुकको कम्युनिष्ट पार्टीको इतिहास हेर्दा जतिबेला आन्दोलन उत्कर्षमा पुग्छ त्यहाँ विवाद देखिन्छ र त्यसले विभाजनको समेत रुप लिन्छ । निरङ्कुश राणा साशन विरोधि आन्दोलनकै क्रममा २००६ सालमा स्थापनाभएको नेपाल कम्युनिष्ट पार्टी छोटो समयमै २००७ सालको राणा विरोधि आन्दोलनमा होमियो र अन्त्यमा राजा राणा कांग्रेसकोबिचमा प्रजातन्त्रको लागि सम्झौता भयो ।

सोहि क्रममा राणा कांग्रेस सरकारको विरोधमा कम्युनिष्ट पार्टीको नेतृत्वमा तराई क्षेत्रमा मोहियानी हक तथा जाली तमसुक विरोधि आन्दोलन भयो जसमा तुलसीलाल अमात्यको नेतृत्वमा विशाल किसान आन्दोलन भयो ।

२०१४ साल देखि कम्युनिष्ट पार्टी भित्र विवादहरु देखा परे, २०१९ सालको तेस्रो महाधिबेशनमा पार्टी एकढिक्का जस्तो देखिए पनि त्यो वास्तविक एकता थिएन, त्यहीबाट नै विवाद र विभाजनको क्रम सुरु भयो ।

२०२८ सालमा झापा बिद्रोह चौथो महाधिबेशनको मोटो मसाल र पातलो मसाल, तत्कालिन मा।ले।भित्र पार्टी स्वतन्त्रता र राजनीतिक स्वतन्त्रता किन नहोस् र २०४६ सालको प्रजातन्त्र पछि एमालेको विवाद र विभाजन, माओवादीमा शान्ति प्रक्रिया पछि देखिएको विवाद र विभाजन । यसरी कम्युनिष्ट पार्टी विवाद विभाजन र एकताको अनेक आरोह अबरोह पार गरेर अहिले एमाले माओबादी केन्द्रबिच एकता भएर विशाल कम्युनिष्ट पार्टी निर्माण गरि समाजवाद उन्मुख कार्यक्रम लिएर बहुमतको सरकार संचालन भैरहेको छ ।

अब पूनःपार्टी भित्र विवादका स्वोरहरु छरपष्ट देखिएका छन् आखिर किन ?

१. कार्य नीतिलाई माक्र्सवादी चिन्तन बमोजिम परिचालित गर्न नसक्नु तथा नेतृत्वले पार्टीको कार्य नीतिलाई राज्य संचालन होस् वा पार्टी संचालन व्यक्तिगत तरिकाले संचालन गरिरहेको कारण नै पार्टी भित्र विवाद भएको देखिन्छ ।

२. आन्तरिक लोकतन्त्र अत्यन्त कम्जोर देखिनु । हामी संघिय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिरहेका छौ, संघ, प्रदेश र स्थानीय तह बेलगाम संचालनमा छन् त्यहाँको बेथितिले अनुगमन गर्ने कुनै संम्यन्त्र छैन । लाखौ कार्यकर्ताहरु कमिटी बिहिन र अन्योल ग्रस्त छन् । उ कुन कमिटीमा पर्छ, कहाँ पर्छ उसलाई थाहा हुदैन, लोकतन्त्रमा यस्तो हुँदैन पनि विवादको यो अर्को कारण हुन् सक्छ ।

३. सस्थागत प्रक्रियाको गम्भिर उलंघन । आज कम्युनिष्ट पार्टी सस्थागत प्रक्रियाबाट चलेकै छैन, त्यहाँ एउटा सानो टिमले पार्टी र सरकार चालाएको छ कमिटिगत निर्णय र मूल्याङ्कनमा पार्दर्सिता एकादेशको कथा भएको छ । बिगत जो अयोग्य थियो अराजक थियो त्यो हाल योग्य देखिएको छ, जो बिगत वर्तमान इमान्दार छन् योग्य छन् ति हाल अयोग्य देखियका छन्, सरकार र पार्टी भित्र देखिएको बिडम्बना येही नै हो । मूल्याङ्कनलाई पार्दशिता नबनाउनु नाताबाद कृपाबाद धन्यवादलाई पस्रय दिनु नै विवादको जड हो ।

४. मार्क्सबादी द्वन्द्वबादलाई निरपेक्ष ढंगले बुझनु । हामी मार्क्सबादीहरुले कुनै पनि प्रक्रियाको परिचालन र समाधान दन्दबादी ढंगले बुझौ र लागु गर्छौ त्यो चाहे सरकार संचालन होस् वा पार्टी तर यहाँ जानेर वा बुझ पचाएर नेतृत्वले द्वन्द्ववादलाई निरपेक्ष्य ढंगले बुझिरहेको छ । सोहि अनुसार समस्याको ब्याख्या र विश्लेषण भैरहेको छ ।

५. मार्क्सबादी जीवन र पद्दतिको बैचारिक पतन । मार्क्सबादी चिन्तन र व्यवहारलाई जिबन र पद्दतिसँग ढाल्नु पर्दछ, हाम्रो सुरुदेखिको मार्क्सबादी स्कूलींग यहिनै थियो । त्यो पद्दतिलाई नयाँ विश्व प्रबिधिमा ढाल्दै प्रशिक्षित गर्दै अगाडी बढ्नु पर्ने थियो तब मात्र छोटो समएमा हामीहरुले देशको समृद्धि र विकासको प्रतिफल सोचे अनुसार हुन सक्थ्यो । तर त्यो नभएर अहिले व्यक्तिगत महत्वकाक्षिको कारण माक्र्सवादी जीवन र पद्दतिको धरातल वैचारिक रुपले पतन भएको देखिन्छ । मलाई लाग्छ यी आदि कारणहरु नै कम्युनिष्ट पार्टी भित्र देखिएका विवादका श्रीन्खला हुन् ।

नारेश्वोर ज्ञवाली

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com