‘असल प्रहरी सँधै आदरणीय र स्मरणीय हुन्छन’

काठमाडौं, २७ पौष । त्यसो त असल र इमान्दार व्यक्तिलाई सबैतिर सँधै मान्ने गरिन्छ । सानातिना कमजोरीका कारण पछिल्लो समयमा प्रहरीलाई हेर्ने सर्वसाधारणको नजर फरक परिरहेको बेलामा शुक्रबार भने सरुवा भएर अन्यत्र जान लाग्नुभएका प्रहरी अधिकृतलाई दुई दर्जन बढी संघसंस्थाले सम्मान मात्रै गरेनन, उहाँको कामको समेत खुलेरै प्रशंसा गरे । र, भने ‘तपाँई जस्ता असल प्रहरी सँधै स्मरणीय हुन्छन ।’

काठमाडौं महानगरपालिका ३१ नं वडा नं ३१ पञ्चकुमारीमार्गस्थित सामुदायीक प्रहरी सेवा केन्द्रका प्रमुख भई ३ वर्ष काम गरेर पदोन्नति भई जिल्ला प्रहरी कार्यालय पाल्पामा जान लागेका प्रहरी निरीक्षक बासुदेव नेपाललाई वधाई ज्ञापन तथा विदाई गर्दै उहाँको ३ वर्षे कार्यकालको प्रशंसा गरिएको थियो । उहाँ महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा दरवन्दी रही सामुदायीक प्रहरी सेवा ३१ मा प्रहरी नायव निरीक्षकको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

यही पुस ९ गते पदोन्नति भई उहाँ प्रहरी निरीक्षक हुनुभएको थियो । ‘२०७२ साल माघदेखि सामुदायीक प्रहरी सेवामा काम गरेका प्रहरी निरीक्षक बासुदेव नेपालले कहिल्यै पनि सामाजिक काममा बाहेक आर्थिक लोभ लालच गर्नुभएन’, सामुदायिक सेवा तथा विकास समितिका अध्यक्ष प्रा.डा.बासुदेव त्रिपाठीले निरीक्षक नेपाललाई शुक्रबार सम्मान गर्दै भन्नुभयो ।

कार्यक्रममा ३ नं प्रदेशका सांसद गणेश दुलाल, सामुदायिक प्रहरी सेवा रानीपोखरीका पूर्वप्रमुख, प्रहरी नायव उपरिक्षक सुरेन्द्रप्रसाद भट्ट, सामुदायिक सेवा तथा विकास समितिका उपाध्यक्ष बसन्त श्रेष्ठ, निमित्त महासचिव अधिवक्ता गणेश केसी, चौतारी युवा क्लवका अध्यक्ष धनबहादुर अच्छामी, साथ साथ संस्थाकी अध्यक्ष कविता शाह, महानगरको ३१ नं वडाकी सदस्य सान्नानी मिजारलगायतले असल प्रहरी अधिकृत बासुदेव नेपाल सँधै स्मरण योग्य प्रहरी अधिकृतको रुपमा परिचित रहने बताए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com