हरेक नेपालीको घरमा तीन वर्षमा विद्युत : मन्त्री पुन

कैलाली, ९ फागुन । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले हरेक नेपालीको घरमा आगामी तीन वर्षमा विद्युत पुर्याउने लक्ष्यका साथ काम अघि बढाइरहेको बताउनुभएको छ ।

बुधबार हसुलिया ३३/११ केभी र पहलमानपुर १३२/३३/११ केभी सबस्टेसनको उद्घाटन गर्दै मन्त्री वर्षमान पुनले सबस्टेसन सञ्चालनमा आएपछि यस क्षेत्रमा ठूला तथा मझौला उद्योग खुल्ने सम्भावना बढेको बताउनुभयो ।

उहाँले विकास आयोजनाको निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले काम नगरिदिँदा उनीहरुले नै देशमा शासन गरिरहेको निष्कर्षमा आफू पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले विकासको योजना बनाएको छ, त्यसको कार्यान्वयनका लागि बजेटको पनि जोहो गरेको छ, ठेक्का पनि लगाएको छ, जति दबाब दिँदा पनि ठेकेदारले काम गर्दैनन्, सरकारले काम गरेन भनेर हामी भन्छौँ, ठेक्कापट्टाको यस्तो अवस्था देख्दा प्रधानमन्त्री, मन्त्रीले शासन चलाएका छैनन्, काम नगर्ने ठेकेदारले चलाएका छन्, उनीहरुले काम गरे मात्रै सफल हुने अवस्था सिर्जना भएको छ ।’

एउटै ठेकेदार कम्पनीले ७४ वटासम्म ठेक्का लिएको जानकारी दिँदै मन्त्री पुनले लोभ गरेर ठेक्का लिने तर काम नगर्ने प्रवृति त्याग्न निर्माण व्यवसायी कम्पनीहरुलाई आग्रह गर्नुभयो । मन्त्री पुनले थप्नुभयो, ‘सक्ने काम लिनुहोस् काममा ढिला नगर्नुहोस् यसले देशको अर्थतन्त्रलाई प्रभावित पार्छ, सक्ने काम लिनुहोस्, समयमै सक्नुहोस् यसले अर्थतन्त्रलाई चलायमान बनाउँछ ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com