आतंकलाई अस्त्र बनाएर लुटको धन्दा चलाउनेलाई कडा कारवाही हुन्छ : प्रम ओली

काठमाडौँ,  ३० फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आतंकलाई अस्त्र बनाएर लुटको धन्दा चलाउन नपाउने बताउँदै त्यस्ता व्यक्ति वा समूहलाई सरकारले कानुन अनुसार कडा कारवाही गर्ने चेतावनी दिनुभएको छ ।

नेपाल नगरपालिका संघको २६ औं प्रधानमन्त्री ओलीले देशको शान्ति सुरक्षामा खलल पुर्याउने तथा विध्वंशकारी क्रियाकलाप गर्नेलाई सरकारले स्वीकार नगर्ने भन्दै कानुन अनुसार कडा कारवाही गर्ने चेतावनी दिनुभएको छ । प्रधानमन्त्री ओलीले मूल धारको राजनीतिमा आउने अधिकार सबैलाई भएको तर लुटपाट मच्चाउँदै हिँडने अधिकार कसैलाई पनि नरहेको पनि स्मरण गराउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई चन्दा नदिन स्थानीय तहहरुलाई निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, ‘राजनीतिक आचरण र व्यवहारका साथ राजनीतिक क्रियाकलापमा आउन सबैलाई बाटो खुला छ । तर, आतंकलाई अस्त्र बनाएर लुटको धन्दा चलाउन पाइँदैन । स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि पत्र आएको, पैसा मागेको सुनेको छु, नडराउनुस्, लुटेराहरुलाई लुट्न नदिनुस् ।’

प्रधानमन्त्री ओलीले इमानका साथ काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि सचेत गराउनुभयो । उहाँले जनताको विश्वास आर्जन हुनेगरी काम नगर्ने जनप्रतिनिधिलाई फेरि जनप्रतिनिधि हुने अवसर नआउनेतर्फ पनि सचेत गराउनुभयो । प्रधानमन्त्री ओलीले देशको भ्रष्टाचारको उच्च श्रेणीमा भएकोमा आफूलाई अन्तर्राष्ट्रिय मञ्चहरुमा लज्जाबोधको विषय हुने गरेको उल्लेख गर्दै सुशासनमा जोड दिएर विकास, निर्माणको कामलाई अघि बढाउन पनि स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

विप्लव समूहमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयतर्फ संकेत गर्दै उहाँले विध्वंशकारी क्रियाकलाप गर्नेहरुलाई कानुन बमोजिम नियन्त्रण गर्ने निर्णय भइसकेको बताउनुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com