विप्लवमाथिको प्रतिबन्ध अलोकतान्त्रिक, द्वन्द्व बढ्न सक्ने आशङ्का : नेता केसी

पोखरा, ३० फागुन । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउनु अलोकतान्त्रिक कदम भएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कास्कीशाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले विप्लवलाई सरकारले प्रतिबन्ध लगाएकाले देशमा फेरी द्वन्द्व बढ्न सक्ने आशङ्का व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “विप्लवका गतिविधि निगरानी गरी नियन्त्रणमा ल्याउने हो, पार्टीमाथि नै प्रतिबन्ध लगाउन त मिल्दैन नि, राजनीतिक पार्टीमाथिको प्रतिबन्ध अलोकतान्त्रिक र संविधान विपरित छ ।”

उहाँले काङ्ग्रेस जिम्मेवार प्रतिपक्ष भएकाले आफूहरू संयम र धैर्य बन्नाका साथै लोकतान्त्रिक प्रकृयाबमोजिम अघि बढिरहेको स्पष्ट पार्नुभयो । उहाँले जनताको सुरक्षा र स्वतन्त्रताको प्रत्याभूति गराउनु सरकारको दायित्व भए पनि उक्त दायित्वबाट सरकार चुकेको बताउँदै उहाँले वाइडबडी, फोरजी प्रकरणलगायतमा भएको आर्थिक अनियमितताको स्वतन्त्र छानबिन हुनुपर्नेमा जोड दिनुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com