काठमाडौँमा चीनको हुनान सांस्कृतिक पोष्टर प्रदर्शनी सुरु

काठमाडौँ, २ वैशाख । काठमाडौंमा चीनको हुनानका सांस्कृतिक पोष्टरहरुको बृहद् प्रदर्शनी गरिएको छ । बबरमहलस्थित नेपाल कला परिषद्मा शनिबार आयोजित एक भव्य कार्यक्रमकाबीच सो प्रदर्शनीको शुभारम्भ भएको हो ।

प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद महेश बस्नेत, नेपालका लागि चिनिया राजदूत हौ यान्छी र हुनान प्रान्तको संस्कृति तथा पर्यटन विभागका उपनिर्देशक यान फू छुले संयुक्त रुपमा सो प्रदर्शनीको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले हुनानको सांस्कृतिक पक्षलाई नेपाल सामु स्पष्ट पारेको बताउनुभयो । उहाँले माओको जन्मस्थलको रुपमा परिचित हुनानले चीनलाई मात्र नभई विश्वलाई नै कम्युनिष्ट आन्दोलनमा हालसम्म पनि निरन्तर रुपमा नेतृत्व गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रदर्शनीमा राखिएका तस्विरहरुले हुनान संस्कृतिको विशेषताहरु झल्काएको छ, त्यहाँको आदर्श जीवनशैली, स्वभावसादगी, इमान्दारीता र आत्मविश्वास तथा यस क्षेत्रको सफलता र विकासलाई समावेश गरेको छ ।’ तस्विर अवलोकन गरेर आगन्तुकहरुले हुनान प्रान्तको आर्थिक तथा भौतिक पूर्वाधारको क्षेत्रमा भएको प्रगति एवम् उन्नती जान्ने मौका प्राप्त भएको बताउनुभयो ।

सांसद बस्नेतले नेपाल र चीनबीचको सदियौंदेखिको धार्मिक, सांस्कृतिक, राजनीति, परम्परागत लगायतका धेरै कुराहरुमा सम्बन्ध रहेको बताउँदै नेपालको समृद्ध नेपाल सुखी नेपालीको अभियानमा चीनको सहयोग अपरिहार्य रहेको बताउनुभयो । उहाँले राष्ट्र, राष्ट्रियता अहिलको अपरिहार्य भएको बताउँदै नेपाल र चीनबीचको पारस्परिक सम्बन्ध कुनै देशसँग अतुलनिय रहेको समेत बताउनुभयो । उहाँले पर्यटन विकास नै नेपालको मूख्य आर्थिक समृद्धिको आधार भएको बताउनुनभयो । उहाँले चीनिया टोलीलाई भक्तपुरको बिस्केट जात्रा अवलोकन गर्न आग्रह समेत गर्नुभयो ।

कार्यक्रमको उद्घाटनपछि बोल्दै हुनान प्रान्तको संस्कृति तथा पर्यटन विभागका उपनिर्देशक याङ फू स्यूले हुनानको कला नेपालमा प्रदर्शन गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले हुनान प्रान्त सांस्कृतिक विविधताले भरिएकोले त्यहाँको संस्कृति कलामार्फत प्रदर्शन गर्ने जमर्को गरिएको बताउनुभयो । प्रदर्शनीबाट हुनानको इतिहास, संस्कृति बुझ्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि चिनिया राजदूत हौ यान्छीले आफू पनि हुनान पुग्न र हेर्न नपाएकोले प्रदर्शनीबाट धेरै कुरा जान्न पाएको बताउनुभयो । सांस्कृतिक रुपमा सवल रहेको हुनान चिनिया नेता माओको जन्म स्थान पनि भएको बताउँदै राजदूत हौले एक पटक घुम्नु पर्ने ठाउँ भएको बताउनुभयो । केही वर्ष यता बेल्ट एण्ड रोड क्षेत्रको व्यवहारिक सहकार्यमार्फत मजबुत गरेको दुई मुलुकको सम्बन्धलाई हुनान क्षेत्रको सांस्कृतिक पोष्टरहरुले पनि जोडेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘आजको पोष्टर प्रदर्शनी एक महत्वपूर्ण कदम हो । यसले दुई मुलुकको सांस्कृतिक आदानप्रदानलाई बढावा दिनेछ ।’

प्रदर्शनीमा चीनका कलाकारहरुसहित नेपालका कलाकार, विद्यार्थी, मैत्री संस्थाका प्रतिनिधि, सम्बन्धित क्षेत्रका विज्ञ तथा आमन्त्रितसहित करीब २ सय ५० जनाको उपस्थिति रहेको थियो । सो पोष्टर प्रदर्शनीमा नेपालस्थित चिनिया सांस्कृतिक केन्द्र तथा हुनान प्रान्तिय संस्कृति र पर्यटन विभाग, हुनान विश्वविद्यालयको ललित कला संकाय र हुनान रेड नेटको आयोजना तथा नयाँ मिडिया कम्पनीको सहआयोजना रहेको छ ।

प्रदर्शनीमा ६० वटा पोष्टरहरु राखिएका छन् । शनिबार उद्घाटन गरिएको प्रदर्शनी आइतबार पनि कला परिषद्मा जारी रहनेछ भने सोमबार बिहान ९ बजेदेखि ५ बजेसम्म चिनिया सांस्कृतिक केन्द्रमा प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com