मिथिलाञ्चलमा जुडशीतल पर्व मनाइँदै

जनकपुर, २ वैशाख । मिथिलाञ्चलमा सोमबार जुडशीतल पर्व मनाइँदै छ । मिथिलाञ्चलमा यस पर्वलाई विशिष्ट कृषि संस्कृति मानिएको छ ।

प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यस पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई सिरूवा पर्व भनी मनाउने गरेका छन् । वस्तुतः दुवै पर्वको उद्देश्य सूर्यको तापबाट आकुल व्याकुल मानवलाई शीतलता प्रदान गर्नुरहेको छ ।

जुडशीतलमा रहेका दुई पद जुड र शीतल कल्याणसँग सम्बन्धित छ । जुडले आशीर्वादको भावमा जुराउनु र शीतलले शीतलताको अर्थ दिन्छ ।
यस पर्वमा जेठाले आफूभन्दा सानाको टाउकोमा हत्केलामा पानी लिइ आशीर्वाद सूचक भावले शीतलता प्रदान होस् भन्ने गर्दछन् । यस पर्वमा शीतलताको कामना सूर्यको कडा ताप विरूद्ध हुन्छ । वैशाखदेखि सूर्यको ताप वृद्धि हुने गरेका कारण यस पर्वमा मानव मात्रको कल्याण नभई रूख विरूवाका लागि पनि शीतलताको कामना गरिन्छ ।

यसका साथै घरका दैलामा तथा घरको बीचमा रहेको खम्बालाई पनि जुराउने गरिन्छ । यस दिन चुलो पनि जुराउने भएकाले चुलोमा आगो बालिदैन । त्यस्तै पशुपक्षी, लतावृक्ष, बोटविरूवाका साथै घर–गृहस्थीका सबै वस्तुहरू सन्दुक, आलमारी, बाकस, खाट, पलङ, कुर्सी, टेबुल, कुचो, जाँतो, ढिकी, ऊखल, मुसल, सिलौटा, लोढा र सवारी साधनमाथि पानी जुराउने गरिन्छ ।

त्यस्तै यस पर्वमा गाउँका इनार, कुवाको जीर्णेद्धार पनि गरिन्छ । यसमा जीउभरी हिलो दलेर एक अर्कालाई जिस्काउने परम्परा पनि रहेको छ । मल र हिलोसँग मानव शरीरको सृष्टि भएको तथ्यलाई यस पर्वले निरन्तरता दिँदै आएको देखिन्छ ।

यस पर्वमा तरूवा, बरी ९वेसनको व्यञ्जन० दही विशेष प्रकारले खाइन्छ । जुडशीतलमा कुलदेवतालाई बासीभात, दही, मीठा र आँपको टिकुलाको नैवेद्य चढाइने गरिन्छ । त्यस्तै चिल चरा तथा स्याललाई पनि नैवेद्य दिने चलन छ । जुडशीतल पर्व उल्लास, पे्रम र भाइचाराको प्रतीकरूपमा पनि प्रतिष्ठित रहेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com