श्रीलङ्कामा बम विस्फोटमा परि २ सयभन्दा बढीको मृत्यु : प्रम ओलीद्वारा दुःख व्यक्त

काठमाडौँ, ८ वैशाख । श्रीलंकामा श्रृङ्खलावद्ध विस्फोटमा परी २ सय भन्दा बढीको मृत्यु भएको घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गर्नुभएको छ ।

आइतबार अपरान्ह श्रीलंकका प्रधानमन्त्री रनिल विक्रमासिंघेसँग फोनमा कुराकानी गर्दै प्रधानमन्त्री ओलीले बम बिस्फोटनको घटनामा कयौं निर्दोषको ज्यान गएकोमा दुःख व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री विक्रमासिंघे र श्रीलंकाली जनताप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ । त्यस्तै प्रधानमन्त्री ओलीले बिस्फोटमा परी जीवन गुमाउनेप्रति श्रद्धासुमन अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

नेपाल जुनसुकै रंग र रुपको आतंकवादको विरुद्धमा उभिने भन्दै प्रधानमन्त्री ओलीले आफ्नो सैद्धान्तिक अडान अनुसार मानवता विरोधी घटनाको भत्सर्ना गर्नुभएको छ ।

उक्त विस्फोटबाट ५०० भन्दा बढि घाइते भएको जनाएको छ । श्रृंखलावद्ध बम विस्फोट हुन थालेपछि राजधानी कोलम्बोमा अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ । अहिलेसम्म विस्फोटको जिम्मा कसैले नलिएको बताइएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com