विकास रेल अघि बढ्यो, कसैले रोक्न खोजे आफै छुट्छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, ८ वैशाख । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले वर्तमान नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्वमा रहेको सरकारले विकासको रेल अघि बढाएको र कसैले बिचमा रोक्न खोजे विकास विरोधी तत्वलाई छोडी निरन्तर रुपमा अघि बढ्ने बताउनुभएको छ ।

नेकपाको ७०औं पार्टी स्थापना दिवस तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले विकास विरोधि तत्वहरुलाई जनताले प्रत्यक्ष रुपमा निगरानि गरिरहेको बताउँदै विरोधी तत्वहरु जनताबाट टाढिने बताउनुभयो । उहाँले नेकपाले चुनावि घोषणापत्रमा उल्लेख भएका सवै प्रतिवद्धताहरु नेकपा नेतृत्वको सरकारले पुरा गर्ने बताउँदै मित्रता, सद्भाव र सहकार्यको साथमा सरकार अघि बढ्ने बताउनुभयो ।

मन्त्री पोखरेलले अनावश्यक विश्लेषणको आयु लामो नहुने बताउँदै सरकारले विकास र समृद्धिको सम्पूर्ण ढोकाहरु खोलेको र आगामी दिनमा विकास कसैले रोकेर रोक्न नसक्ने बताउनुभयो । उहाँले अग्रगामी सोच र विचारको माध्यमबाट पार्टी तथा सरकार अघि बढ्ने बताउँदै सरकारले देशको आर्थिक विकास र समृद्धि हासिल गरेरै छोड्ने बताउनुभयो ।

मन्त्री पोखरेलले विगतको बाटोले आगामी दिनको बाटो देखाउन नसकिने बताउँदै उहाँले भन्नुभयो, ‘हिजोको कुराबाट पाठ सिक्ने हो र वर्तमान समयमा प्रेरणाको माध्यबाट आधुनिक तरिकाले अघि बढ्नुपर्छ । परिवर्तनको शान्तिपूर्ण पक्षको माध्यमबाट संविधानलाई अक्षरस पालना गर्नुपर्छ । संविधान अनुसार प्रतिपर्धा र प्रगतिशिल विचार र सोच अहिलेको अपरिहार्यता रहेको छ ।’

विकास निर्माणका काममा सहि विश्लेषण र मुल्याङ्कन हुुनुपर्ने बताउँदै उहाँले राष्ट्रको आवश्यकता तथा जनताको चाहना नै पार्टी एकता भएको बताउनुभयो । राजनीतिक स्थिरता तथा स्थिर सरकारको निर्माणसँगै विकास र समृद्धिको जनताको तिव्र चाहना पुरा गर्न पार्टी एकता भएको उहाँले बताउनुभयो ।

अब एमाले र माओवादी कसैले खोजेर नपाउने र त्यो इतिहास भइसकेको बताउँदै उहाँले नेकपाको एकता आन्दोलनलाई नयाँ उचाईमा पुर्याउन विशेष भूमिका रहेको बताउनुभयो । उहाँले एकतालाई अझ सुन्दर बनाउन पार्टीका नेता तथा कार्यकर्ता एक ढिक्का भई सरकारले गरेको विकास र समृद्धिका बारेमा जनता समक्ष पुर्याउन गाउँ गाउँ, वस्ती वस्ती सचेतना तथा जागरण अभियान नै सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com