तनहुँका ३ विद्यालय मर्ज : आठ विद्यालयलाई नमूना बनाइने

विद्यार्थी कम हुँदै गएपछि तनहुँको भिमाद नगरपालिकामा सञ्चालित ३ सामुदायिक विद्यालय मर्ज गरिएको छ ।

वडा नं ९ को हिमालय आधारभूत विद्यालय, भिमाद वडा नं ५ को गणेशमान स्मृति आधारभूत विद्यालय र वडा नं ८ को जनशक्ति आधारभूत विद्यालयलाई क्रमशः भैरव आधारभूत विद्यालयमा, दीपक माविमा र जय नेपाल आधारभूत विद्यालयमा समायोजन गरिएको छ । विद्यार्थी सङ्ख्या न्यून भएका र निजीकै अन्य विद्यालय भएकाले ती विद्यालयलाई नजिकको विद्यालयमा समायोजन गरिएको बताइएको छ ।

जिल्लाको शुक्लागण्डकी नगरपालिकाले आठ सामुदायिक विद्यालयलाई नमूना विद्यालय बनाउने भएको छ । शैक्षिक गुणस्तर वृद्धिका लागि नगरपालिकाले ती विद्यालयलाई अनुदान पनि दिने भएको छ । पहिलो चरणमा गाउँफर्कोदय मावि, खैरेनीटार मावि, सरस्वती मावि, जनकल्याण मावि, कुश्मावती आधारभूत विद्यालय, जनशिशु कल्याण आधारभूत विद्यालय, शहीदकृष्ण मावि र सूर्य आधारभूत विद्यालयलाई नमूना विद्यालय बनाइने भएको हो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com