३० किलो चामलको मूल्य चार हजार

काठमाडौं, ३१ वैशाख । ठेकेदारको लापरबाहीले समयमा चामल ढुवानी नहुँदा हुम्ली नागरिकले सधैँ चामल लिन मुगु धाउनुपर्ने बाध्यता छ ।

यो क्रम वर्षेनी दोहोरिइरहेको छ । आर्थिक वर्षको अन्त्यसम्ममा पनि ठेकेदारले हुम्लामा चामल ढुवानी गरेका छैनन् । यसबारे कसैले चासो र पहल पनि लिएको छैन ।

मुगु खाद्य शाखामा ३० किलो जापानी मोटा चामलको मूल्य १५ सय ८० रुपैयाँ पर्छ । त्यही चामल हुम्लाको उनापानी गाउँमा किन्दा तीनदेखि चार हजार रुपैयाँ पर्छ । ‘चार हजार हालेर पनि गाउँमा चामल पाइँदैन । नजिकको सर्केगाड डिपोमा जहिले गए पनि चामल छ भन्दैनन्,’ २०औँ पटक चामल लिन आएका उनापानीकै दानबहादुर रावतले सुनाए ।

गत ५–६ वर्षयता हुम्लाका मानिस खसी, बोका, भेडा, खच्चर ल्याएर मुगुबाट चामल लैजान्छन् । धानबाली अत्यन्त कम हुने हुम्लाका बासिन्दाले आठ–दश दिन धाएर चामल लैजानु नौलो प्रचलन नभएको खाद्य शाखा मुगुका प्रमुख भरत खनियाँले बताए ।

यो शाखाबाट हुम्लावासीले वर्षमा पाँच सय क्विन्टलसम्म चामल लैजाने गरेको उनको भनाइ छ । वैशाख दोस्रो सातायता मात्रै १५ क्विन्टलभन्दा बढी चामल हुम्लावासीले लगेका छन् ।

उनका अनुसार हुम्लाको सर्केगाड डिपोमा यो वर्ष ११ सय क्विन्टल चामल ढुवानी हुनुपर्नेमा हालसम्म पाँच सय ५० क्विन्टल मात्रै ढुवानी भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com