वित्तीय सङ्घीयता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री खतिवडा

काठमाडौँ, ३१ बैशाख । अर्थमन्त्री डा युवराज खतिवडाले वित्तीय सङ्घीयता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन ।

मंगलबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०७६र७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) भएको छलफलमा सांसदले उठाउनुभएको प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले विकासका आकांक्षा र साधन स्रोतबीचको सन्तुलनका आधारमा बजेटको आकार निर्धारण हुने बताए ।

उनले भने, ‘हामी बजेट अनुशासन र मापदण्डमा बस्नुपर्दछ, त्यसका लागि सबैको सहयोग आवश्यक छ, वित्तीय सङ्घीयता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ, ठूला पूर्वाधार आयोजना कार्यान्वयन गर्ने सन्दर्भमा अन्तर प्रदेशबीचको सन्तुलन कायम गरिनेछ ।’

संविधानको प्रस्तावना र राज्यका निर्देशक सिद्धान्तले निदृष्ट गरेको लक्ष्य हासिल गर्ने विषयलाई आधार बनाएर बजेट बनाइने बताउँदै उनले क्षेत्रगत आधारमा भन्दा नीतिगत, कार्यगत र योजनागत आधारमा बजेट विनियोजन हुने बताए । उनले भने, ‘क्षेत्रगत आधारभन्दा नेपालीको अनुहार जहाँ उज्यालो हुने देखिन्छ त्यो नै प्राथमिकता हो । अहिलेको बजेट क्षेत्रगत प्राथमिकतामा अल्झदैन ।’

बजेट विनियोजन गर्दा जनसङ्ख्या र भौगोलिक सन्तुलन दुवै महत्वपूर्ण छ, प्राकृतिक स्रोत तथा वित्त आयोगले निर्धारण गरेको मापदण्डलाई मुख्य आधार मानिने बताउँदै उनले भने,  ‘सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्दै लगिनेछ, नीति तथा कार्यक्रम र बजेटमार्फत् वित्तीय सङ्घीयता कार्यान्वयन हुने अवस्थामा पुगेको छ । ‘गरीबी, बेरोजगारी र सुशासनका विषयलाई पनि बजेटले सम्बोधन गर्न प्रयत्न गर्नेछ ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com