पार्टी कुनै नेताको तजबिजमा होइन, स्पष्ट कार्यदिशा र नीतिबाट चल्नुपर्छ : काव प्रम पोखरेल

काठमाडौँ, १ जेठ । कार्यवहाक प्रधानमन्त्री इश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुनै नेताको तजबिजमा नभई स्पष्ट कार्यदिशा र नीतिबाट चुल्नुपर्नेमा जोड दिनुभएको छ ।

युवा संघ नेपालको २९ औँ वार्षिकोत्सवको अवसरमा आज काठमाडौँमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले श्रृंखलावद्ध कमिटी प्रणाली नअपनाइए नेकपाको दुर्गति कसैले रोक्न नसक्ने बताउनुभयो । उहाँले एकताबद्ध भएको पार्टी विचारमा सुस्पष्ट हुनुपर्ने धारणा राख्नुभएको हो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहनुभएका मन्त्री पोखरेलले विगतको अभ्यासभन्दा फरक अभ्यास र प्रणालीबाट अघि बढ्नुपर्ने भएकाले संगठनात्मक सदृढताको खाँचो औल्याउनुभयो । उहाँले भन्नुभयो, ‘श्रृंखलावद्ध कमिटी प्रणाली नहुने हो भने कम्युनिष्टहरु भिडमा शक्ति प्राप्त गर्न सक्दैनन् । संगठनमा मात्रै शक्ति प्राप्त गर्छन् । र यो संगठन भनेको श्रृंखलावद्ध कमिटी प्रणालीमा प्रकट हुन्छ । प्रकट हुनुपर्दछ ।’

पार्टीको विचार र राजनीतिक कार्यदिशा स्पष्ट हुनुपर्ने बताउँदै मन्त्री पोखरेलले विश्वमा भएका घटना नेपालमा पनि दोहोरिन सक्ने भन्दै उहाँले विचारको स्पष्टतालाई नेतृत्वले विशेष महत्व दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘संसारमा हामीले देख्यौँ कम्युनिष्ट पार्टीहरु ठूला(ठूला बने । राज्यसत्ता कब्जा गरे । शासन सञ्चालन गरे । तर ती कम्युनिष्ट पार्टीहरु पूँजीवादीहरुले एउटा पनि गोली प्रहार नगरिकन तासका महल ढलेजस्तो भएर ढले । हाम्रो एकताबद्ध भएको कम्युनिष्ट पार्टी कुनै हालतमा पनि त्यस्तो हुनुहुन्न । हामी सबैले यसमा खबरदारी गर्नुपर्ने जरुरी छ ।’

उहाँले आर्थिक विकास र समृद्धिको कुरा गरिरहँदा ठोस नीति, कार्यक्रम, योजना र आचरण स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले राजनीतिक कार्यदिशाले सम्बोधन गर्ने विषय सार्थक ढंगले आउन नसके पार्टी एकढिक्का भए पनि दिशाहीन अवस्थामा पुग्ने तर्क सचेत भई अघि बढ्नुपर्नेमा जोड दिनुभयो । मन्त्री पोखरेलले विचारमा स्पष्ट नभए कम्युनिस्ट पार्टी तासको घर जस्तै ढल्ने भन्दै समयमा नै सवैले सोच्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो राजनीतिक कार्यदिशासंग गासिएका कुराहरुमा हाम्रो स्पष्टताको जरुरत छ । विचारको मामिलामा हामी स्पष्टताका साथ अगाडि बढ्नु पर्दछ । राजनीतिक कार्यदिशाका सन्दर्भमा पनि स्पष्टता हासिल गरेनौँ भने हामी अलमलमा पर्छौं । अलमलमा परेको कम्युनिष्ट पार्टी दुर्गति भोग्नुबाहेक अर्को उपलब्धि हुन सक्दैन । हामी दुर्गतिलाई स्वीकार गर्न सक्दैनौँ । हाम्रो पोलिटिक्स अब आर्थिक विकास र समृद्धिमा कसरी केन्द्रित हुने हो ? यसको बारेमा छलफल हुनुपर्दछ । यदि यो छलफल भएर हामी ठिक ढंगले निष्कर्षमा पुग्न सकेनौँ भने वास्तवमा हामी न हाँसको चाल न कुखुराको चाल हुन पुग्छ । त्यो दुर्भाग्यपूर्ण स्थिति आउन दिन हुँदैन ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com