कांग्रेस नेताद्वय शर्मा र थापाको राजीनामा माग

काठमाडौँ, २५ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ महाधिवेशन पक्षधर विद्यार्थी नेताहरुले पार्टीका प्रवक्ता र पार्टीका युवा नेता तथा सांदि गगनकुमार थापाको राजिनामा माग गरेको छन् ।

मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनीहरुले पार्टी नेतृत्वको अकर्मण्यताका कारण भातृ तथा शुभेच्छुक संघ–संस्थाहरु अलपत्र परेको आरोप लगाएका छन् । पार्टी सुधार गर्नुको सट्टा झारा टार्नको लागि दोस्रो जागरण अभियान सुरु गरी पार्टीका भ्रातृ संस्थाहरुलाई निष्कृय बनाएको उनीहरुको आरोप छ । जारी विज्ञप्तीमा भनिएको छ, ‘यसप्रति हाम्रो ध्यानाकर्षण भएको छ । पार्टीलाई विधि विधान र लोकतान्त्रिक मूल्यमान्यतामा आधारित रहेर संचालन गरिनुपर्ने, भ्रातृ संगठनहरुको गठन र महाधिवेशन गरिनुपर्ने, पार्टीको महाधिवेशनको मिति घोषणा गर्न जोडदार रुपमा माग गर्दछौं । अन्यथा पार्टीलाई एकलौटी ढङ्गबाट चलाउन खोजिए त्यसका विरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिन चाहन्छौं ।’

कार्यक्रममा बोल्दै नेविसंघका पूर्व उपाध्यक्ष तथा युवा नेता क्षितिज भण्डारीले वर्तमान कम्युनिष्ट नेतृत्वको सरकारको अधिनायकवादी कदमको आफ्नो पार्टीले सशक्त विरोध गर्न नसकेको आरोप लगाए । भण्डारीले वर्तमान पार्टी नेतृत्वले पार्टीका सच्चा नेता तथा कार्यकर्ताहरुलाई थाङ्नामा सुताउने काम गरेको अर्को गम्भीर आरोप लगाए । उनले भने, ‘पार्टी नेतृत्वले जबरजस्ती गोजीबाट नेविसंघको समिति बनाए हामी समानान्तर कमिटी गठन गरेर अघि बढ्छौं ।’

कार्यक्रममा नेविसंघका पूर्व केन्द्रीय सदस्य मोती भण्डारीले भातृ संगठनलाई कोमामा राखेर पार्टी जागरण अभियानमा होमिएको चित्रण गरे । नेविसंघका पूर्व केन्द्रीय सदस्य तथा पार्टी महाधिवेशन प्रतिनिधि लिलाबल्लभ दाहालले वर्तमान पार्टी नेतृत्व ईतिहासमै कमजोर भएर गिरेको आरोप लगाएका छन् ।

एनसेल कर प्रकरणमा पार्टी मौन बसकेकोमा पनि उनले कडा आलोचना गरे । उनले भने, ‘देशलाई अरबौंको घाटा भएको छ । तर, हाम्रो पार्टी यो विषयमा मौन छ । यसले धेरै प्रश्नहरु उब्जाएका छन् ।’ उनले पार्टी सभापति शेरबहादुर देउवाको मात्रै नभएर युवा नेताद्धय विश्वप्रकाश शर्मा र गगन थापा पनि निकम्मा भएको भन्दै तत्काल राजीनामा दिनुपर्ने माग गरे । दाहालले पार्टी सभापति देउवालगायत युवा नेताद्धय शर्मा र थापाको सार्वजनिक कार्यक्रममा नै आफूहरुले कालो झण्डा देखाउने चेतावनी दिए ।

कार्यक्रममा नेविसंघका निवर्तमान कोषाध्यक्ष शिव रिमालले पनि पार्टी सभापति शेरबहादुर देउवाले सिंगो पार्टी हाँक्नको लागि असक्षम भएकोले तत्काल राजीनामा दिनुपर्ने माग गरे । नेविसंघकी निवर्तमान केन्द्रिय सदस्य प्रेमिका रानामगरले पार्टी नेतृत्वले जागरण अभियानको नाममा नौटंकी देखाइरहेको गुनासो पोखिन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com