कांग्रेसद्वारा सरकारलाई २१ महिनामा २१ वटा आरोप

काठमाडौँ, ४ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारले २१ महिनामा २१ वटा गम्भीर त्रुटि गरेको आरोप लगाएको छ । उसले सरकारको २१ महिना बिनाउपलब्धि बितेको ठहर पनि गरेको छ ।

केन्द्रीय कार्यालय सानेपामा मंगलबार मंसिर १४ गते हुने उपनिर्वाचनका लागि पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गर्दै कांग्रेसले सरकारको २१ महिना निराशाजनक रहेकाले उपनिर्वाचन परिणाम आफ्नो पक्षमा आउने दाबी गरेको छ ।

प्रतिबद्धतापत्रमा लेखिएको छ, ‘उपनिर्वाचनको परिणामले सरकारलाई सच्चिने मौका र भूमिका दिन सक्छ ।’ कांग्रेसले प्रमुख प्रतिपक्षीका रुपमा आफ्नो दलको भूमिका सम्यम् र जिम्मेवारपूर्ण रहेको तर सरकार असफल भएकाले उपनिर्वाचन परिणाम पार्टीको पक्षमा आउने विश्लेषण गरेको छ ।

पाँच वर्षका लागि गठन भएको कम्युनिस्ट नेतृत्वको सरकारको सफलता र असफलताको समग्र मूल्यांकन पाँच वर्ष पुग्दैगर्दा हुने बताउँदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘बिहानीले दिउँसोको संकेत गर्छ भनिए झैं दुईतिहाइको सरकारको २१ महिना अर्थात् एक तिहाइ समय सकिइसकेको छ र यो अवधिले बाँकी परिणाम पनि सुखद हुने संकेत बिल्कुलै दिएको छैन ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com