सम्झौता अनुसार काम नगरे जिम्मेवारीबाट हटाउँछु : मन्त्री पुन

काठमाडौँ, १६ मंसिर । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले कार्यसम्पादन सम्झौताअनुसार काम गर्न मातहतका निकायलाई निर्देशन दिँदै आफुसँग गरिएको कार्यसम्पादन सम्झौताअनुसार काम नगरे जिम्मेवारीबाट हटाउने चेतावनी दिनुभएको छ ।

सिंहदरवारस्थित उर्जामन्त्रालयमा भएको ०७६/७७ को प्रथम चौमासिक प्रगति समीक्षा एवं राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री पुनले भन्नुभयो, ‘मैले प्रधानमन्त्रीज्युसँग कार्यसम्पादन सम्झौता गरेको छु, म त्यही अनुसार काम गर्छु, सचिवज्युले मसँग गर्नुभएको छ । त्यस्तै सचिवज्युसँग सहसचिव र अन्य उच्च अधिकारीले सम्झौता गनुभएको छ । सम्झौताअनुसारको काम भयो कि भएन अहिलेलाई त्यो नै मुल्याङकन हो । कार्यसम्पादनअनुसार काम नभएको भए आफ्नो जिम्मेवारी पनि सोचौं ।’

मन्त्री पुनले राज्य र सरकारको कार्यशैली फेरिएको भन्दै त्यहिअनुसार काम गर्न पनि निर्देशन दिनुभयो । उहाँले भन्नुभयो ‘प्रधानमन्त्री, मन्त्रीले भनेको कुरा हो भन्दै गर्छन यस्तै हो चलिरहन्छ भन्ने कुराजस्तो भयो । लेखेको, नेतृत्वले भनेको र योजनामा रहेको कुरा कार्यान्वयन गर्ने हो भन्ने देखिएको छैन ।’ यसलाई गम्भिरतापुर्वक लिनुहोस ।’

राष्ट्रिय गौरव र प्राथमिकताका आयोजनामा गम्भिर भएर काम गर्न र फिल्डमै गएर आयोजनाको अवस्था बुझ्न र सहजीकरण गर्न पनि मन्त्री पुनले निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘तपाईहरुले राष्ट्रिय गौरव र प्राथमिकतामा परेका आयोजनाहरुको सोझै सचिव, महानिर्देशकहरुले नै निगरानी र सहजीकरण गर्नुपर्यो, आफै फिल्डमा गएर भएपनि समस्याको समाधान गर्नुपर्यो । अहिले पनि अरुलाई मात्र दोष दिएर उम्कने काम राम्रो होईन ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com