हुम्लामा फेरि हिमपात, जनजीवन प्रभावित

हुम्ला, २६ मंसिर । हुम्लामा फेरी हिमपात पर्दा जनजीवन प्रभावित भएको छ ।

पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात शुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ । हिमपातका कारण चिसो अत्यधिक बढेको छ ।

सिमकोट विमानस्थल स्रोतका अनुसार हिमपातले गर्दा जिल्लाको एकमात्रै यातायात सेवा हवाइजहाज उडान बन्द रहेको छ । नेपालगञ्ज सुर्खेतबाट बिहान ७ बजेदेखि हुम्लामा उडान गर्दै आएको तारा, सीता, समिट एयरलाइन्सको उडान प्रभावित भएको छ । यहाँको तापक्रम माइनस ६ डिग्री सेल्सियससम्म पुगेसँगै बिहान बेलुका बढी चिसो हुने गरेको छ ।

उत्तरी नाम्खा गाउँपालिकामा जिल्ला सदरमुकामभन्दा बढी चिसो रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com