लुम्बिनी विकासमा, नियुक्ति लागि लुछाचुँडी गर्ने नियुक्ति पछि वेवास्ता गर्ने परिपाटी अन्त हुनुपर्छः पोखरेल

लुम्बिनी, २६ मंसिर । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लुम्बिनीको विकास सबैको साझा एजेन्डा बन्नुपर्ने बताएका छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालय परिसरमा निर्माण गरिएको प्रज्ञास्तुपको उद्घाटन गर्दै रक्षामन्त्री पोखरेलले लुम्बिनी विकास कोषको पदाधिकारीमा नियुक्ति पाउनका लागि लुछाचुँडी गर्ने तर नियुक्ति पछि वेवास्ता गर्दा लुम्बिनीको विकास हुन नसकेको आरोप लगाए ।

लुम्बिनीको विकास सबैको साझा एजेन्डा बन्नुपर्ने बताउदै उनले भने, ‘लुम्बिनीको रुपरंग फेरिन सकेको छैन, नियुक्ति पाउनको लागि लुछाचुँडी गर्ने तर नियुक्ति बुझेपछि वेवास्ता गर्ने परिपाटी अब बन्द हुनुपर्छ ।’

विगतका कमिकमजोरी देखाएर बस्नुको साटो आगामी दिन कस्तो बनाउने र कसरी अगाडि बढ्ने भन्ने विषयमा अब छलफल हुनुपर्ने उनको भनाइ छ ।

मन्त्री पोखरेलले संस्कृति, परम्परा, ज्ञान र विज्ञानका कुरालाई जनताको आवश्यकतासँग जोड्नुपर्ने बताउदै उनले भने, ‘पर्यटनको विकास गरिरहँदा हामी निर्माण भएका संरचनामा रमाएका छौँ, त्यसलाई अहिलेको आवश्यकता र स्थानीय जनताको जीवनसँग जोड्न सकेका छैनौँ ।’

बौद्ध विश्वविद्यालयले पिएचडीबाट सुरुवात गरी स्नातकोत्तर हुँदै स्नातकका ७ वटा कक्षाको सम्वन्धन प्राप्त गरेको उनले जानकारी दिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com