यात्रा संस्मरण : ३० बर्ष पछि जम्काभेट

तेज बहादुर ढकाल, सान्या, डिसेम्बर २३, २०१९

हाम्रा गाऊँमा औधि मकै, फर्सी, तरूल र पिडालु फल्दथे । एकै ठाऊमा हुर्के पढेका र एउटै मुलको पानी खाएका हामी बीच राम्रो दोस्ती पनि थियो । हाम्रो खाजा र खाना यिनीहरू कै निर्देशनमा चल्ने गर्दथ्यो । संधै जसो उनिहरूलाई खाई दिनु पर्दा दिन बिराएर झगडा पर्दथ्यो । पढाईको सन्जोग भनौ वा संधैको गनगन भनौ २०४६ सालमा गाऊँ छाडी शहर पसियो । शहर पुणे पछि त आलु, कोपी, चम्सुर, पालुंगो र धनियासंगको संगत बढेसँगै गाऊको कुरा नचाहेर पनि परिबन्ध र बाध्यताबस भुल्दै गइयो । रात दिन नभनी मिहेनत गरे पनि एउटा सानों घर र मतान बनाऊन पनि १० बर्ष संघर्ष गर्नु पर्यो । शैक्षिक, व्यावसायीक र राजनतिक यात्रा अगाडि बढ्दै गयो । बर्मा गएनी कर्म संगै भने झै दुख र संघर्ष पनि संगसँगै अगाडी बडे । गाऊँमा जस्तै धेरै इलम बढाईयो । शहरमै भएपनि गाडिघोडा र पाखापखेरा पनि जोडियो ।

गाऊँ छाडेको ३० बर्ष पछि पछिल्लो पटक चाईनाको पर्यटन नगरी सान्या पुग्दा पुराना साथी उही मकै, फर्सी, तरूल र पिडालु संग जम्काभेट भयो । नखाउ भने दिन भरिको शिकार खाउं त भने कान्छा बाऊको अनुहार भन्ने भनाई चरितार्थ भयो । एक छिन ट्वाल्ल परेपछि हामी छुटे पछिको संघर्षको कहानी सुरू भयो । ऊनीहरूको चाईनिजसंगको चिनजान बढेपछि सान्या पो पुगेछन् । उनिहरू मिलेर पॉंच तारे होटलहरू पनि खोलिसकेछन् । गाऊको स्यालरूम्टी जस्तो ठाऊलाई विश्व प्रख्यात पर्यटन नगरी बनाएछन् ।

अन्त्यमा अब नेपाल मैं केही गर्नु पर्नेमा सहमति गरियो । नयॉं कुरा गर्नु भन्दा आफ्नो मौलिकता र खानपिनको संरक्षण र विकास गर्नु नै दीगो पर्यटनको आधार रैछ भन्नेमा एकमत भयो । साथै एक एक पोका बिऊ पनि हात पारियो । सन् २०२० मा नेपालमै भेट्ने बाचा गर्दै भावबिहल हुदै छुटियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com