नेकपाले आचारसंहिता कार्यान्वयन गर्न दियो यस्तो निर्देशन

काठमाडौँ, १४ फागुन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्वले नै पार्टीले मातहतका नेता कार्यकर्तालाई आचारसंहिता पालना गर्न फेरि अर्को सर्कुलर जारी गरेको छ ।

फागुन ११ गते नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष परिपत्र–८ जारी गर्दै आचारसंहिता कार्यन्वयनमा जोड दिएका हुन् ।

नेकपाको विशेष परिपत्रमा भनिएको छ, ‘सवै तहका पार्टी कमिटी र संगठित तथा साधारण सदस्यहरुले पार्टी केन्द्रबाट जारी गरिएको आचारसंहिता पालना गर्ने, गर्न लगाउने र त्यस सन्दर्भमा आफूलाई उदाहरण बनाउने ।’  ११ बुँदे परिपत्रमा नेकपाले आगामी २०७६ चैतभित्र पार्टीका संगठित सदस्य र साधारण सदस्यहरुको सदस्यता नवीकरण सम्पन्न गरिसक्न निर्देशन पनि दिएको छ ।

परिपत्रमा केन्द्रीय कमिटी र प्रदेश कमिटीका सदस्यले आ–आफ्नो कार्यक्षेत्र अन्तर्गतका जिल्ला कमिटीसँग समन्वय गरी निर्धारित समयभित्र संगठित सदस्यता तथा साधारण सदस्यता नवीकरण सम्पन्न गर्न र विधानबमोजिम पार्टी कमिटी वा पार्टी सेलमा संगठित गर्न सक्रिय सहयोग गर्न भनिएको छ ।

साथै तोकिएको समयभित्रै नवीकरण शुल्क र लेबी बुझाई सदस्यता नवीकरण गरेर अनिवार्य रुपमा सधारण सदस्यता पत्र वा संगठित सदस्यता पत्र प्राप्त गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

यसरी नविकरण गरी परिचय–पत्र प्राप्त गरेका संगठीत सदस्यहरुलाई आगामी २०७७ असार मसान्तभित्र पार्टीको टोल, प्रारिम्भक कमिटी वा कुनै न कुनै कमिटीमा संगठित गराउन निर्देशन दिएको छ ।

प्रशिक्षक प्रशिक्षणका लागि आगामी वैसाख १ गतेदेखि सात प्रदेश र ७७ जिल्ला कमिटीमा खटाउने परिपत्रमा उल्लेख छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com