रौतहटमा गोली चल्यो

रौतहट, ९ जेठ । राजपुर बमकाण्डका अभियुक्त पूर्वमन्त्री आफताब आलमको घरमा प्रहरीले खानतलासी गरेको छ ।

सोही बमकाण्डका फरार अभियुक्त महताब आलमलाई पक्राउ गर्न प्रहरीले बिहीबार राति १२ बजे राजपुरमा रहेको आफताब आलमको घरमा पुगेको थियो । महताब अफताब आलमका भाइ हुन् । खानतलासीका क्रममा परिवारजन र स्थानीयले प्रहरीलाई अवरोध गरेपछि प्रहरीले हवाई फायर गरेको जनाइएको छ ।

अभियुक्त पक्राउ गर्न गएको प्रहरीमाथि हातपात हुन खोजेपछि १२ राउण्ड गोली हवाई फायर गरेको प्रहरीले जनाएको छ । प्रहरीले खोजेको व्यक्ति महताब आलम फेला नपरेको र फरार रहेका सबैको खोजी कार्य जारी रहेको छ ।

राजपुर बमकाण्ड घटनाका आरोपी मोहम्मद महताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजले हक, सगिर आलम, शेख मलकार, बद्री सहनी, मुक्ति साहलयायतका व्यक्ति प्रहरीको फरार सूचीमा छन् । मध्यरातमा प्रहरीले गरेको खानतलासीको स्थानीयले विरोध गरेका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com