भारतको दादागिरी : बनाउँदै गरेको घरमा अवरोध

काठमाडौँ, २१ जेठ । भारतले नेपाली भूमिमा निर्माण भइरहेको घरमा अवरोध गरेको छ । दशगजाभन्दा ३० देखि ४० फिटभित्रै नेपालकै भूमिमा बनाउँदै गरेको ३० वटा घरमा ‘नो कन्स्ट्रक्सन जोन’ भन्दै भारतीय सुरक्षाकर्मीले रोक लगाएका हुन् । अतिविपन्न मुसहर समुदायका लागि जनता आवास कम्पनीले दुईकोठे पक्की घर निर्माण गरिरहेको थियो ।

नेपाल सरकारले गाउँ ब्लकको जमिन भनी नापीसमेत गरिसकेर लालपुर्जा मात्र दिन बाँकी थियो । महोत्तरीको मनरा सिस्वा नगरपालिका–१० मधवास्थित दशगजा र वरिपरि गाउँ ब्लककै जमिनमा बसेका ६० मध्ये मुसहर समुदायका ३० घरपरिवारले पुरानो झुपडीको साटो दुईकोठे इँटा र जस्ताले बनेको घर पाउने भएका थिए । तर, भारतको अवरोधपछि उनीहरू निराश बनेका छन् ।

मुसहर समुदाय पुस्तौँदेखि दशगजा र गाउँ ब्लकको जमिनमा बस्दै आएका थिए । नयाँ घर निर्माण नहुँदासम्म भारतले कुनै अवरोध गरेको थिएन । पुरानो घर भएको जमिनमा जग खनेर निर्माण सुरु गर्ने वेलासम्म भारतीय सुरक्षाकर्मीसमेतको उपस्थिति र सहमति रहेको स्थानीयहरूको भनाइ छ । तर, अहिले एकाएक अवरोध गरेको स्थानीयको भनाइ छ ।

स्थानीय श्रीचन सदाले आफूहरूको कैयौँ पुस्ता यही भूमिमा बसेको र हालसम्म पनि दशगजाबाहेक अन्य जग्गामा भारतको अवरोध कहिल्यै नभएको बताए ।धमाधम घर बन्न थालेपछि भएको भारतको अवरोधले आफूहरू निराश बनेको उनको भनाइ छ । भारतीय सुरक्षाकर्मीको हर्कत आफ्ना लागि असह्य भएको सदाले बताए । उनले नेपाल–भारतको सीमास्तम्भबाट ३५ देखि ४० फिट जग्गा छाडेर घर बनाउन लागेको बताए । नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीसमेतको रोहवरमा घर निर्माण सुरु भए पनि भारतीय सुरक्षाकर्मीले गत आइतबार ‘यहाँ घर बनाउन मिल्दैन’ भनेर काम रोकेको सदा बताउँछन् ।

पिलर नम्बर ३०४/२२, ३०४/२३, ३०४/२४, ३०४/२५ र ३०४/२६ को मध्यमा अवस्थित तीन कट्ठा १० धुर जग्गामा निर्माण थालिएको ३० वटा घर प्रदेश २ को भौतिक पूर्वाधार तथा विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन कार्यालयले जनता आवास कार्यक्रमअन्तर्गत बनाउन लागेको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com