ब्राजिलमा अमेरिकाको भन्दा बढीको दैनिक मृत्यु

काठमाडौँ, २१ जेठ । कोरोना भाइरस (कोभिड– १९) महामारी रहेको ब्राजिलमा पछिल्लाे समय अमेरिकाकाे भन्दा पनि बढी दैनिक मृत्यु र संक्रमणका केस फेला परिरहेका छन् ।

मंगलबार ब्राजिलमा एकै दिन २७ हजार २६३ जनामा संक्रमण पुष्टि भएकाे छ भने काेराेना भाइरसकै कारण मंगलबार एक दिनमा १ हजार २३२ जनाकाे ज्यान गइसकेकाे छ । अहिले ब्राजिल दैनिक नयाँ संक्रमित थपिनेमा मात्र नभएर दैनिक मृत्यु संख्यामा पनि विश्वकै पहिलाे स्थानमा देखिएकाे छ ।

कुल कोरोना संक्रमित देशको लहरमा दोस्रो स्थानमा रहेको ब्राजिलमा बुधबार बिहानसम्म जम्मा संक्रमित संख्या ५ लाख ५६ हजार ६६८ पुगेकाे छ । त्यहाँ अहिलेसम्म काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३१ हजार २७८ पुगेकाे छ ।

यता अमेरिकामा दैनिक मृतक संख्या अहिले पनि १ हजार हाराहारी नै छ । मंगलबार त्यहाँ भाइरस संक्रमणका कारण १ हजार १३४ जनाकाे मृत्यु भएकाे छ भने २१ हजार ८८२ नयाँ संक्रमित थपिएका छन् । यससँगै अमेरिकामा कुल संक्रमित संख्या १८ लाख ८१ हजार नाघेकाे छ ।

अहिलेसम्म अमेरिकामा १८ लाख ८१ हजार २०५ जनामा कोरोना संक्रमण फैलिसकेको छ । त्यहाँ अहिलेसम्म १ लाख हजार ८ हजार ५९ जनाले यस भाइरसकाे संक्रमणबाट ज्यान गुमाइसकेका छन् । तर ६ लाख ४५ हजारभन्दा बढी निकाे समेत भइसकेका छन् । हाल त्यहाँ ११ लाख २७ हजारबढी मानिसमा भाइरस सक्रिय छ ।

यद्यपि ब्राजिलमा कुल संक्रमितमध्ये २ लाख ४० हजारभन्दा बढी मानिसचाहिँ निको भइसकेका छन् । त्यहाँ हाल २ लाख ८४ हजारभन्दा बढी मानिसमा कोरोना भाइरस सक्रिय छ । ब्राजिलमा निकाे हुने दर अमेरिकाकाे भन्दा बढी छ ।

काेराेना संक्रमणका हिसाबले ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा रहे पनि मृत्युका हिसाबले भने अमेरिकापछि बेलायत दोस्रो स्थानमा छ । बेलायतमा अहिलेसम्म कोरोनाका कारण ३९ हजार ३६९ जनाले ज्यान गुमाइसकेका छन् । त्यहाँ कुल संक्रमित संख्या २ लाख ७७ हजार ९८५ पुगेकाे छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com