प्रधानमन्त्रीलाई डा पाण्डेले लकडाउन खोल्ने मोडालिटी र कोरनाबाट बच्ने यस्तो दिए सुझाव

काठमाडौ, २२ जेठ । जनस्वास्थ्य बिज्ञ डाक्टर रवीन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लकडाउन खोल्ने मोडालिटी र कोरोना संक्रमणबाट बच्ने उपायबारे आफ्नो लिखित सुझाव दिनुभएको छ । लकडाउनको मोडालिटी परिवर्तन र कोरोना नियन्त्रणको बिषयमा सुझाव लिन प्रधानमन्त्री ओलीले आयोजना गर्नुभएको छलफलमा डाक्टर पाण्डेले बिभिन्न बिकल्पसहितको सुझाव दिनुभएको हो ।

यस्तो छ पाण्डेको सुझाव
नेपालमा कोरोना संक्रमितको संख्या उकालो लागिरहेको तथा असाररसाउन महिनासम्म उच्चबिन्दुमा जानसक्ने प्रक्षेपणअनुसार एकातर्फ रोगलाई नियन्त्रण गर्नुपर्ने दायित्व छ भने अर्कातर्फ जनजीविका सञ्चालन गर्नका लागि लकडाउनलाई खुकुलो गर्नुपर्ने बाध्यता हामी सामू रहेको छ । सबैलाई थाहा छ, लकडाउन समाधान होइन । तर लकडाउनलाई एकैपटक खोल्दा हामीले ब्राजिलको अवस्था आउन सक्छ भनेर आत्मसात गर्नुपर्दछ । तसर्थ लकडाउनलाई सुरक्षित अवतरण गर्नका लागि ४–५ चरणमा विस्तारै खुकुलो गर्नुपर्दछ । हरेक चरणमा परीक्षणको दायरा बढाउँदै रेड, एल्लो र ग्रीन जोनमा बदल्दै लकडाउनलाई परिवर्तनशील बनाउनु वैज्ञानिक एवं व्यवहारिक हुन्छ ।

यी कुरालाई ध्यान दिँदै सरकारले आफ्नो रणनीति परिवर्तन गर्नु जरुरी छ, जसलाई मैले बुँदागत रूपमा राखेको छु ।

– भारतसँग सिमाना जोडिएका जिल्लामा, संक्रमण बढी देखिएका पहाडी जिल्लामा तथा अन्य जिल्लाका हटस्पट सिल गरेर बाँकी ठाउँमा लकडाउन खुकुलो गर्ने ।

– काठमाडौं उपत्यकामा जनघनत्व धेरै भएको हुँदा संक्रमण फैलिएमा नियन्त्रण गर्न गाह्रो हुन्छ । यहाँ बस्न गाह्रो भएका व्यक्तिलाई गाउँ जान व्यवस्था गर्ने । काठमाडौंबाहिर फसेका व्यक्तिलाई सुरक्षितरूपमा ल्याउने व्यवस्था मिलाउने । त्यसपछि बाहिरी नाका सिल गर्ने ।
– सार्वजनिक यातायात अर्को चरणमा ५० प्रतिशत क्षमतासहित सुचारु गर्ने । साझा यातायातजस्ता लामा सवारीसाधनलाई प्राथमिकता दिने ।

– सम्पूर्ण कार्यालय ३० प्रतिशत क्षमताबाट खोल्न शुरू गर्ने ।

– नोबेल कोरोना भाइरस नयाँ भएको, यसको अध्ययन भइरहेको, सबै तथ्य थाहा नभएको तथा आधिकारिक निकायबाट फरक–फरक धारणा आइरहेको हुनाले एउटा विज्ञ समूह बनाउने । त्यो समूहले आपसमा छलफल गरेर बनाएको मतलाई मिडियामार्फत जनतामा सम्प्रेषण गर्ने ।

– सामाजिक दुरी, मास्कको प्रयोग, हात धुनेलगायतका सुरक्षित उपायबारे रेडियो तथा टेलिभिजनमा विज्ञापन, टेली चलचित्र तथा प्रचार सामग्री बनाउने ।

– स्कूल, कलेज, होटेल, नाइट क्लब, सिनेमा घर, स्वीमिङ पुल, जिम, जुम्बा आदि पछिल्लो चरणमा मात्र खोल्ने ।

– उत्पादन तथा रोजगारी बढाउनका लागि ती क्षेत्रहरू क्रमशः खोल्ने ।

– व्यवसायीलाई ब्याज सहुलियत, कृषि ऋण मिनाहा, कमाएर कर तिर्ने व्यवस्था तथा डुबेका व्यवसायलाई उठाउन प्रेरित गर्ने ।

– अस्पताल तथा स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिने । यसका लागि निम्न उपाय प्रबन्ध गर्ने स्

क, पाटन अस्पताल, मेडिसिटी अस्पतालजस्ता ठूला २–३ वटा अस्पतालमा मात्र ‘फ्लू क्लिनिक, ज्वरो क्लिनिक, कोरोना परीक्षण, उपचार, आइसीयू, भेन्टिलेटर आदिले सु–सज्जित गर्ने । जिल्लामा पनि यस्तै एउटा ठूलो अस्पताल वा मेडिकल कलेजमा व्यवस्था मिलाउने ।

ख, गम्भीर लक्षण नदेखिएका संक्रमितलाई होम आइसोलेसन, होटेल आइसोलेसन वा सामुदायिक भवनमा आइसोलेसनको व्यवस्था गर्ने । यसो गर्दा सबै अस्पताल र स्वास्थ्यकर्मी संक्रमित हुँदैनन ।

ग, बाँकी अस्पताललाई अन्य रोगका नियमित सेवा सञ्चालन गर्ने । कारणवश संक्रमित देखिएमा ती अस्पताल सिल नगर्ने । कन्ट्याक्ट ट्रेसिङ गरेर संक्रमितलाई मात्र आइसोलेसनमा राख्ने ।

घ, चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीलाई तीन समूह बनाएर पालैपालोसँग काम गर्ने तथा क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्ने । यसो गर्दा स्वास्थ्यकर्मी संक्रमित भएर सेवा अवरुद्ध हुँदैन ।

ङ, स्वास्थ्यकर्मीलाई गुणस्तरीय पीपीईलगायत सुरक्षाका सम्पूर्ण सामग्री प्रदान गर्न सरकारी तथा निजी अस्पताललाई निर्देशन दिने । स्वास्थ्यकर्मीको मनोबल बढाउन सरकारले विशेष प्रोत्साहन नीति बनाउने । फ्रन्ट लाइनका चिकित्सक तथा नर्सलाई सुविधासम्पन्न होटलमा बस्ने व्यवस्था गर्ने ।

च। अस्पतालमा बिरामीका कुरूवा राख्ने प्रचलन हटाउने । सम्पूर्ण व्यवस्था अस्पतालले गर्ने ।

छ, बिरामी नहेर्ने, फर्काउने, सरकारको नियम पालना नगर्ने निजी अस्पतालको प्रवृत्तिलाई निरुत्साहित गर्ने ।

ज, स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित ५ हजार हुने आंकलन गरेर त्यही अनुरूपको तयारी गरेको सन्दर्भमा साउनको अन्तिमसम्म करीब ३० हजार संक्रमित हुन सक्ने मेरो अध्ययन छ । तसर्थ सरकारले न्युनतम ३० हजार संक्रमितका लागि पूर्वतयारी गर्नुपर्दछ ।

– कृषकलाई सामाजिक दुरी राखेर तथा एकै टोलबीच पर्मको व्यवस्था गरेर काम गर्न प्रोत्साहित गर्ने । यो वर्ष चीन, भारत, बंगलादेशलगायत देशमा कोरोना संक्रमणका कारण उत्पादन घट्दछ । तसर्थ जमिन बाँझो नरहने गरी उत्पादन गर्न, कृषि बिमा गर्न, कृषि एम्बुलेन्स तथा बजारीकरणको ग्यारेन्टी गर्न प्रदेश सरकार र स्थानीय निकायलाई योजना दिने ।

– लकडाउन खुकुलो भएपछि अन्य देशमा जस्तै संक्रमितको संख्या वृद्धि हुन्छ । यसले गर्दा अस्पतालमा प्रेसर बढ्छ । तसर्थ आईसीयू, भेन्टिलेटर र जनशक्ति थप्ने व्यवस्था गर्नुपर्दछ ।

– नेपालको सीमा क्षेत्रमा सुविधा सम्पन्न क्वारेन्टाइनको प्रबन्ध गरी उनीहरूलाई परीक्षण गरेर मात्र आफ्नो थातथलोमा पठाउने व्यवस्था गर्ने । यसका लागि पीसीआर टेस्ट ल्याबको क्षमता बढाउने । क्वारेन्टाइन र परीक्षणमा लगानी गर्ने ।

– हवाइमार्गबाट उद्दार गर्नेको हकमा उनीहरूको क्षमता अनुसारको होटल, लज, गेस्ट हाउसमा क्वारेन्टाइनमा राख्ने । खर्च गर्न नसक्नेलाई सामुदायिक भवनमा क्वारेन्टाइनको प्रबन्ध गर्ने ।

– क्वारेन्टाइन तथा आइसोलेसनमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र प्राथमिक उपचारका सामान राख्ने । क्वारेन्टाइनमा मृत्यु हुनु वा आत्महत्या गर्नुलाई नेगेटिभ इन्डिकेटर मानिन्छ । यो तथ्यमा सजग हुने ।

– सीमा जोडिएका बाहेक क्षेत्रमा सुरक्षा विधि अपनाएर आन्तरिक हवाइ यात्रा सुचारू गर्ने ।

– मास्क नलगाउने, चार जना भन्दा धेरै हिँड्ने, भीडभाड गर्ने लगायतलाई जरिवानाको व्यवस्था गर्ने । प्रहरी तथा स्थानीय स्वयंसेवीलाई सामाजिक दुरी पालनाको अनुगमन गर्ने व्यवस्था स्थानीय निकायमार्फत मिलाउने ।

– प्रहरी, सेना, स्वास्थ्यकर्मी, सफाइकर्मीलगायत समूहमा बस्नेमा संक्रमण सरेमा छिटो फैलिन्छ । तसर्थ त्यो समुदायमा पनि सामाजिक दुरी र मास्क अनिवार्य गर्ने ।

– एम्बुलेन्स, अस्पताल तथा जनसरोकारका कार्यालयलाई संक्रमणरहित बनाउन मार्गनिर्देश गर्ने ।

– मृतकको विवरण दिँदा ‘डेथ बाइ कोभिड’ वा ‘डेथ बाइ हार्ट अट्याक कोभिड पोजिटिभ’ यो मोडल अपनाउने । यसले जनतामा आतंक फैलिन पाउँदैन ।

– नेपालमा रहेका विदेशी निकायलाई सरकारको योजनाअन्तर्गत सहयोग गर्ने प्रणालीमा राख्नुपर्दछ । उनीहरूले स्वास्थ्य मन्त्रालय चलाउने वातावरणको अन्त्य गर्नुपर्दछ ।

– उद्योगको सिफारिसमा मजदुरलाई सुरक्षित रूपमा ल्याएर, उद्योगको खर्चमा क्वारेन्टाइनमा राखेर तथा पीसीआर टेस्ट गरेर काममा लगाउनुपर्दछ । सकभर मजदुरलाई उद्योगमा आवासीय रूपमा राख्नुपर्दछ । अरू समुदाय तथा परिवारसँग भेट्न दिनु हुँदैन ।

– एसईई परीक्षा सञ्चालन गर्न अहिले जोखिमपूर्ण हुन्छ, तसर्थ टेस्ट परीक्षाको आधारमा परिणाम निकाल्ने व्यवस्था मिलाउने ।

– फजुल सरकारी खर्च कटाउने, सांसद विकास कोषलाई उत्पादन र रोजगारी सिर्जनाका लागि सम्बन्धित पालिकाको समन्वयमा पारदर्शी हिसाबले खर्च गर्ने व्यवस्था मिलाउने ।

– औषधि उपकरण खरिद, गाइडलाइन निर्माण तथा अन्य अनावश्यक कामको बिल मात्र बनाउने काम रुचाउने प्रवृत्तिको निहितार्थ बुझेर कारवाहीको व्यवस्था गर्ने । विपदलाई कमाउने अवसर बनाउने प्रवृति अन्त्य गर्न राष्ट्रिय सतर्कता केन्द्र तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई क्रियाशील गर्ने वातावरण मिलाउने ।

– जेष्ठ नागरिक तथा जोखिम वर्गलाई सुरक्षित गर्ने, निःशुल्क औषधि दिने तथा काममा नलगाउने ।

– खोप कार्यक्रम सञ्चालन नगर्दा बालबालिका जोखिममा पर्न सक्छन् । दादुरालगायत रोगको महामारी फैलिन सक्छ । तसर्थ खोप कार्यक्रम पूर्ववत सञ्चालन गर्ने ।

– रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि आयुर्वेद चिकित्सामा वर्णित तथा गाइडलाइनमा उल्लेखित जडिबुटीको उपलब्धता र प्रयोगमा प्रचार–प्रसार गर्ने । योगलाई जीवनको शैली बनाउने ।

पहिलो चरण अर्थात् जेठ ३२ सम्म स्

– एकैपटक भीडभाड नहोस् भनेर अत्यावश्यक सेवाबाहेक अन्य निजी यातायात जोर बिजोर गरेर चलाउने । मोटरसाइकलमा १ जना र चारपांग्रेमा २ जना मात्र बस्न पाउने गरी व्यवस्था मिलाउने ।

– आवासीय ढाँचामा उद्योग खोल्ने । उद्योगमा खाने तथा सुत्ने ठाउँ नभएमा नजिकको पार्टी प्यालेस भाडामा लिएर त्यहाँ राख्ने तथा उद्योगको बसले ल्याउने र छाड्ने काम गर्ने ।
– खाधान्न पसल, किराना पसल, रेस्टुरेन्ट, स्टेशनरी, औषधि पसल, कृषि तथा भेटेनरी पसल, बच्चाका सामान राख्ने पसल आदि खोल्ने ।

– तरकारी बजारमा धेरै भीड हुने हुँदा स्थानीय खाध्य तथा किराना पसलबाट खरिदबिक्रीको व्यवस्था मिलाउने ।

– एउटा कार्यालयका कर्मचारीले धेरै साधन प्रयोग नगरेर बसबाट कार्यालय ल्याउने र छोड्ने व्यवस्था गर्ने ।

– निश्चित ट्रकलाई कृषि एम्बुलेन्सको प्रमाण पत्र दिएर गाउँबाट तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, अण्डा तथा पशुपन्छी ल्याएर बेच्ने व्यवस्था मिलाउने ।

– मजदुरको रोजगारीको लागि सामाजिक दुरी कायम गरेर ससाना घर निर्माणको काम गर्ने अनुमति दिने ।

– राष्ट्रिय गौरवका आयोजना, हाइड्रोपावरलगायतमा काम सुचारू गर्ने ।

– बैंक तथा वित्तीय संस्था, अस्पताल, मालपोत, बिल तिर्ने कार्यालय आदिमा अनलाइनबाट वा फोनबाट समय लिएर प्राप्त समयमा सेवाग्राही पुग्ने टाइम कार्ड लागू गर्ने । यसले भीडभाड हटाउन मद्दत गर्छ ।

– अस्पताल, पोलिक्लिनिक तथा क्लिनिकलाई भेन्टिलेसन, व्यक्तिगत दुरी, प्रतिक्षालयमा दुरी कायम गरेर बेञ्च राख्ने, पीपीईको व्यवस्था, स्वास्थ्यकर्मी तथा बिरामीलाई हात धुने व्यवस्था आदि व्यवस्थापन गरेर मात्र सञ्चालन गर्न तयारीको समय दिने ।

– यो चरणमा परीक्षणको दायरा बढाउने र त्यसको परिणामअनुसार अर्को चरणका योजना ल्याउने ।

हामीले फुकीफुकी पाइला चालेर कोरोना संक्रमण नियन्त्रण, आर्थिक गतिबिधि सञ्चालन, कृषि क्रान्ति सञ्चालन तथा लकडाउनको मोडालिटी परिवर्तन गर्दै लैजानु पर्दछ । कोरोना संक्रमण केही वर्ष रहने भएकाले कोरोना भाइरस छल्दै जनजीवन सञ्चालन गर्नुको विकल्प छैन ।

– लकडाउन खुकुलो हुँदाको अवस्थामा पनि सुरक्षा व्यवस्था कडा गर्ने, संक्रमित क्षेत्रबाट सुरक्षित क्षेत्रतर्फको आवतजावत निषेध गर्ने तथा भीडभाड पूर्णरूपमा नियन्त्रण गर्ने ।

– बिहान र बेलुका हिँडडुल निरुत्साहित गर्ने, दिउँसो खुकुलो गर्ने, बस्ती तथा गल्लीमा सुरक्षाकर्मीको गस्ती बढाउने लगायत भीडभाड नियन्त्रणका उपाय अवलम्बन गर्ने ।

– जनतालाई कोभिड– १९ बारे सही जानकारी दिने, मनोसामाजिक परामर्श दिने, इम्युनिटी पावर बढाउने उपायबारे जानकारी दिने काम नियमित गर्ने ।

– कन्ट्याक्ट ट्रेसिङका लागि ग्रामीण स्वास्थ्यकर्मी, भोलेन्टियर तथा सामाजिक कार्यकर्ता परिचालन गर्ने ।

– केन्द्रीय प्रयोगशालामा परीक्षणको चाप धेरै भएर समयमा रिपोर्ट नआउने परिस्थिति विद्यमान छ, तसर्थ सामुदायिक अस्पताललाई निश्चित गाइडलाइन र अनुगमनसहित परीक्षण गर्ने अनुमति दिने । परीक्षणको खर्च सरकारले सामुदायिक अस्पताललाई दिने ।

नोटः प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ गते आफ्नै सरकारी निवास बालुवाटारमा आयोजना गर्नुभएको विज्ञसँगको छलफलमा पेश गरेको सुझाव ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com