धेरै बिग्रेको ठाउँमा आइपुगेछु, सुधार्ने कोसिसमा छु : मन्त्री अर्याल

काठमाडौँ, १५ असार । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले मन्त्रालयमा आएदेखि भूमि समस्याबाहेकका विषयमा छलफल गर्न नपाएको गुनासो गरेकी छन् ।

संघीय संसद राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आइतबारको बैठकमा बोल्दै उनले भूमिको सन्दर्भमा अहिलेसम्म धेरै नै बिगारिएको र बेथिति ल्याइएको र त्यसलाई सुधार्न आफु लागिपरेको बताएकी हुन् ।

उनले भनिन्, “सरकारी सार्वजनिक जग्गाको हाल त्यस्तै छ । मालपोत, नापीसँग जोडिएका कुराहरू त्यस्तै छन् । म त एकदम समस्यै समस्याको चाङमा बेथितिको भुमरोमा कति सुधार्न सकिन्छ, सुधार्ने कोसिसमा छु ।” समस्याबाहेक कहिल्यै छलफल गर्नै नपाएको उनको गुनासो छ । अर्यालले थपिन्, “जतिखेर पनि समस्या । समस्याबाहेक केही सोच्न सकेको छैन । कुनै दिन हेर्ने हो भने आज त यसो गर्यौं नि भन्ने कुरा छैन ।” धेरै बिगारिसकेको, धेरै बेथिति आइसकेको ठाउँमा आफूले काम गर्न आइपुगेको उनको जिकिर छ ।

मन्त्री अर्यालले गुठी जग्गाको सन्दर्भमा पनि धेरै विवाद रहेको र त्यसलाई कानुन निर्माण नगरीकन व्यवस्थित गर्न नसकिने स्पस्ट पारिन् । सरकारले एकीकृत कानुन निर्माणका लागि समिति गठन गरेर अध्ययन गरिराखेको र गुठीयारहरूको भावनालाई समेटेरै कानुन आउने स्पष्ट पारिन् । कतिपय विवादमा मन्त्रीहरू नै बसेर छलफल गरी विवाद टुङ्ग्याउनुपरेको अवस्था रहेको समेत उनले बताइन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com