नेपालको राष्ट्रियता कमजोर छैन, राष्ट्रियताको बिरुद्ध कोही नसल्बलाए हुन्छ : प्रम ओली

काठमाडौँ, १५ असार । प्रधानमन्त्री केपी ओलीले भारतले आफूलाई हटाउने खेल सुरु गरे पनि त्यो सम्भव नहुने बताएका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भूमि समेटेर नक्सा जारी गर्ने, संविधानसमेत संशोधन गरेर त्यसलाई लिपिबद्ध गर्ने काम गरेपछि आफूलाई हटाउने खेल सुरु भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘दिल्लीका सञ्चारमाध्यम सुन्नुहोस्, त्यसैले निर्देश गरिहाल्छ कि कहाँ–कहाँ के–के भइरहेको छ । यहाँका होटलहरूमा भइरहेका गतिविधिहरू हेर्नुहोस्, त्यसले पनि देखाइरहेको छ । एम्बेसीको सक्रियता, त्यसले पनि देखाइरहेको छ’, जननेता मदन भण्डारीको ६९औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा ओलीले भने, ‘तर, म तपार्ईंहरूलाई यति भन्छु, नेपालको राष्ट्रियता त्यति कमजोर छैन । संविधानमा नक्सा सामेल गरेबापत यस देशको प्रधानमन्त्रीलाई हटाउँछु भन्ने कसैले सपना देखेको छ भने आजको राष्ट्रियता त्यस्तो कमजोर छैन ।’

ओलीले पहिलो पटक सार्वजनिक रूपमै आफूविरुद्ध भारतले चलखेल सुरु गरेको आरोप लगाएका हुन् । उनले नेपालकै नेताहरूका गतिविधि, भारतीय दूतावासको सक्रियता र होटलहरूमा भएका गतिविधिले आफूलाई हटाउने खेलको निर्देश गरेको उल्लेख गरे । उनले प्रधानमन्त्री पदमा बसिरहन मन नभएको तर अहिले आफू हट्ने हो भने भोलिदेखि नेपालको पक्षमा बोल्ने आँट कसैले गर्न नसक्ने बताए । आफ्नो पार्टी, संसदीय दल अहिलेको परिस्थिति नबुझी ‘अञ्जान खेलमा बहकाउमा लागेर नदौडने उनको भनाइ थियो ।

‘मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बसिरहन मन छैन । तर, यतिबेला म हट्ने हो भने भोलिदेखि नेपालको पक्षमा बोल्ने आँट कसैले गर्न सक्दैन’, उनले भने, ‘मैले आजका लागि होइन, भोलिका लागि, आफ्ना लागि होइन, देशका लागि र हाम्रो पार्टी, हाम्रो संसदीय दल यस्ता बहकावमा कुद्नेवाला छैन । यति नबुझ्ने अञ्जान खेलमा खेल्नेवाला पनि छैन ।’

उनले मदन भण्डारीको वैचारिक, राजनीतिक तथा सांस्कृतिक पक्षबारे चर्चा गर्दै झन्डै एक घण्टा १० मिनेट सम्बोधन गरे । राष्ट्रियताका विषयमा केन्द्रित रहेर अडान लिँदा आफूविरुद्ध विभिन्न कोणबाट आक्रमण प्रयास भए पनि त्यो सम्भव नहुने उनको भनाइ थियो । यो समाचार आजको अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com