वेमौसमी बाजाको कर्कस धुन कसैलाई प्रिय हुँदैन : मुख्यमन्त्री पोखरेल

काठमाडौँ, २७ असार । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले मुलुकको विषम परिस्थितीमा सवै नेपाली राजनीतिक दल, सरकार तथा स्थानीयवासी एक ढिक्का हुनुपर्ने समयमा यो वा त्यो बहानामा वेमौसमी बाजाको कर्कस धुन कसैलाई प्रिय नहुने स्पष्ट पार्नुभएको छ ।

पार्टी एकताको चुड्न लागेको डोरी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई जोड्न सम्पूर्ण पार्टीका जिम्मेवार व्यक्तिहरुको समेत सहयोग आवश्यक रहेको औंल्याउँदै मुख्यमन्त्री पोखरेलले पार्टी एकतालाई कायम गरी उज्यालो नेपाल निर्माण गर्न सकिने धारणा प्रस्तुत गर्नुभयो । नेकपाको स्थायी कमिटीको बैठकमा अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतले प्रकानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट राजिनामा मागेसँगै पार्टी भित्र विवाद उत्कर्षमा पुगेको छ । पार्टी भित्रको विवादलाई समाधान गर्न नेकपाका दोस्रो तहका नेताहरुले विशेष भूमिका निर्वाह गरी पार्टीलाई फुटको बाटोमा जान रोक्ने हरप्रयासहरु भइरहेको छ ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘पार्टी एकताले नै आजको शक्ति आर्जन भएको हो र पार्टी एकताको रक्षावाट नै उज्यालो भविष्य सुनिश्चित हुन्छ । पार्टी एकताको रक्षाका लागि एकताको मुलमर्म र भावनाको अनुशरण गरौं । निषेध र उपेक्षाले पार्टी एकताको रक्षा हुन सक्दैन ।’

भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउन सरकारले चालेको ऐतिहासिक कदम भएको उल्लेख गर्दै उहाँले नेपाल–भारत बीचको सिमा विवाद समाधान गर्ने उद्देश्यका साथ नेपालका सबै भूभाग समेटिएको नक्सा प्रकाशन पछि मुलुक सम्वेदनशील मोडमा उभिएको बताउनुभयो । सबै राजनीतिक दलको समर्थनमा संविधानको अनुसूचीमा त्यसलाई समावेश गरिएको उल्लेख गर्दै उहाँले यो ऐतिहासिक कदम नेपाली स्वाभिमान र अखण्डताको रक्षाको राष्ट्रिय संकल्प भएको बताउनुभएको छ । गुमेको भूमि फिर्ता ल्याउन नेपाल सरकारले गरेको पहल कदमीबाट छिमेकी भारत त्यसवाट आक्रोसित बनेका वेलामा त्यसको नेतृत्व गर्ने प्रधानमन्त्री ओलीलाई सिंगो राष्ट्र एक भएर साथ दिने बेलामा पार्टीमै विवाद देखिनु राम्रो नभएको समेत बताउनुभयो ।

विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले नेपालमा समेत संकट पैदा गरिरहेको उल्लेख गर्दै वर्षायामसँगै बाढी पहिरोको त्रास तथा पिडामा रहेका नागरिकलाई साथ दिनु पहिलो जिम्मेवारी भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘यति बेला जनता कोभिड १९ र वाढी पहिरोको त्रास र पीडामा छन् । उनीहरुको सेबागर्नु हामी सबैको कर्तव्य हो । अध्यक्षद्वयले परिस्थितिको गंभीरतालाई मनन् गरी चालु वैठकलाई एक साताका लागि स्थगन गर्नुभएको छ । यसलाई सदुपयोग गर्दै धर्ना, जुलुस र वादप्रतिवादका सबै खाले गतिविधिहरु स्थगन गरेर पीडमा रहेका जनताको सेवामा जुटौं ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com