क्रियाशील सदस्यता विवरण पठाउन कांग्रेसको निर्देशन

काठमाडौँ, ६ मंसिर । नेपाली काँग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशनको तयारीका लागि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको विवरण यही मङ्सिरभित्रै केन्द्रमा पठाउन जिल्ला सभापतिलाई निर्देशन दिएको छ ।

काँग्रेसको गत कात्तिक २८ गतेको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार क्रियाशील सदस्यता वितरण र नवीकरणसम्बन्धी विवरण केन्द्रमा पठाउन सबै जिल्ला सभापतिलाई मङ्सिर २ गते निर्देशन गरिएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । जिल्ला कार्यसमितिले केन्द्रको परिपत्रको सबै प्रक्रिया पूरा गरेर नामावली सूची प्रकाशन गरी विधानबमोजिम आवश्यक कागजात र तोकिएअनुसारको शुल्कसहित मङ्सिरभित्र अनिवार्यरुपमा केन्द्रमा पठाउनुपर्नेछ ।

काँग्रेसको नेतृत्व चयनमा महत्वपूर्ण भूमिका रहने क्रियाशील सदस्यता सङ्ख्या हाल करिब पाँच लाख छ । काँग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म निर्धारण गरी सोहीअनुसार कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com