तेस्रो मुलुकबाट आयात २० प्रतिशतले घट्यो

काठमाडौँ, १९ मंसिर । तेस्रो मुलुकबाट कन्टेनरमा बन्द भई नेपाल आयात हुने मालबस्तुको ब्यापार २०.४१ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ । नेपालका लागि कन्टेनर बन्द मालबस्तु भारतीय बन्दरगाहहरु पश्चिम बंगालको कोलकाता बन्दरगाह, कोलकता मातहतकै हल्दिया बन्दरगाह र निजी क्षेत्रबाट ब्यवस्थापन गरिएको आन्ध्र प्रदेशको विशखापटनम बन्दरगाहबाट भएर नेपाल आउने गरेको छ । ति बन्दरगाहको पछिल्लो तथ्यांकअनुसार विदेशाट नेपालका लागि आउने कन्टेनर कार्गोको आयात घटेको देखिएको छ ।

अंग्रेजी आर्थिक वर्ष २०२०/०२१ को २ चौमासिकअर्थात ८ महिनामा कोलकाता बन्दरगाहबाट चौंतिस हजार १७ वटा र विशखा पटनमबाट एक्काइस हजार ६४७ कन्टेनर (२० फिट इकाईमा) नेपालका लागि आएका छन् । अंग्रेजी आर्थिक वर्ष २०२०/०२१ को अप्रिलदेखि नोभेम्बरसम्ममा समग्रमा तेस्रो समुद्रपारका मुलुकहरुबाट ५५ हजार ६ सय ६४ ओटा कन्टेनर मालसामान नेपाल आएको यस तथ्यांकले देखिन्छ । पोहोर यसै अवधीमा भारतको कोलकाता र विशाखापटनमबाट नेपालका लागि ६७ हजार ९ सय ४५ कन्टेनर आएका थिए । यस वर्ष आएका कन्टेनरको संख्या गत वर्षको भन्दा २०.४१ प्रतिशतले कम हो ।

भारतको कोलकातास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीका शाखा प्रमुख लक्ष्मण खड्काले समुद्रपारबाट भारतीय बन्दरगाह हुँदै आउने कार्गोमा कमी हुनुले विदेशबाट हुने आयात घटेको देखिएको बताए ।

उनकाअनुसार कोलकाता र बिशाखापटनम बन्दरगाहबाट ३ सय ७३ र्‍याक कन्टेनर मालवाहक रेलमा वीरगन्ज सुक्खा बन्दरगाहमा आएको छ । एक र्‍याकमा २० फिट इकाइको ९० वटा कन्टेनर आउने गर्छ। यस हिसाबले ३३ हजार ५ सय ७० वटा कन्टेनर भारतीय बन्दरगहहरुबाट रेलमा नेपालका लागि आएका छन् । अरु २२ हजार ९४ कन्टेनर सडक मार्गबाट नेपाल भित्रिएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com