दम्भ र घमण्डलाई त्याग्दै सहकार्यमा अगाडि बढौंः सांसद बस्नेत

भक्तपुर, १९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, प्रतिनिधी सभाको सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले जनप्रतिनिधीमा पलाएको दम्भ र घमण्डलाई त्याग्दै सहकार्यमा अगाडि बढे मात्रै संविधान कार्यान्वयनमा सहजता हुने बताउनु भएको छ ।

जिल्ला समन्वय समिति भक्तपुरले विहिवार आयोजना गरेको दुईदिने वार्षिक समिक्षा कार्यक्रमको उद्घाटन गर्दै उहाँले जिससको भूमिकालाई स्वीकार्दै सहकार्यका साथ अगाडि बढ्नु पर्ने आजको आवश्यकता रहेको बताउनु भएको हो । स्थानीय तहले जिससलाई मान्यता नदिने, बेवास्ता गर्ने जस्ता व्यबहार रोक्दै जिससलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गनर््ु आवश्यक रहेको उहाँले औल्याउनुभयो ।

“भक्तपुर नगरपालिका जिसस चाहिन्न भन्छ, तर बजेट चाँही कि मेरो खातामा लेउ, कि मैले भनेकै समितिलाई देउ भन्छ, मध्यपुरथिमि नगरपालिकाले त्यहीँ सिक्दैछ, स्थानीय तहले संघीय सरकारलाई स्वीकार्दैनौ भन्न थालेका छन्,” नेकपाका केन्द्रीय सदस्य समेत रहनु भएका सांसद बस्नेतले भन्नुभयो, “जिससको वार्षिक समिक्षामा नगर प्रमुख नआएर एउटा कर्मचारीलाई पठाउँछन्, यहाँको प्रमुख म मात्रै हु भन्ने जसरी जनप्रतिनिधीमा पलाएको दम्भ र घमण्ड त्याग्नु पर्छ ।”

स्थानीय तह एकातिर बजेट नभएर काम गर्न गर्न नपाएको भन्दै हिड्ने र अर्कोतर्फ काम गर्न नसकेर बजेट फिर्ता पठाउने गरेको टिप्पणी गर्दैै उहाँले केन्द्रीय, प्रदेश र स्थानीय तहको सहकार्य र समन्वय गरेर जादा मात्रै विकासले फड्को मार्ने बताउनुभयो ।

सूर्यविनायक र चाँगुनारायणमा बन्ने स्मार्टसिटीको डिपिआर बनिसक्दा पनि काम अगाडि नबढेको बताउदै सांसद बस्नेतले भन्नुभयो, “सूर्यविनायकमा मात्रै १८ हजार रोपनीमा बन्ने स्मार्टंसिटीमा लाग्ने रु. २३ अर्ब लागत खर्च गर्ने निजी क्षेत्र कै श्रोत साधन तयार छ, तर तँ ठूलो कि म ठूलो भन्ने विवाद, दम्भ र घमण्डले काम अगाडि बढेको छैन ।”

स्मार्ट सिटी नबन्दा भावी पुस्ताले अहिलेको नेतृत्वलाई सराप्ने टिप्पणी गर्दै उहाँले स–साना इगोका कारण रंगशाला बनाउन हुदैन, हनुमन्ते करिडोरलगायतका ठूला आयोजनाहरुमा अबरोध पुग्ने गरेको भनाइ छ ।

सडकको दाँया बाँया भिन्न नगरपालिका भएकाले अरनिको राजमार्गमा एकातिर सडक बत्ति बल्ने र अर्को तर्फ नबल्ने गरेको, सरसफाईका एकातिर हुने र अर्कोतर्फ अबरोध आउने गरेको बताउदै विकासमा सबै नगरपालिकाको साझा अबधारणा आउन नसक्दा समस्या आएको सांसद बस्नेतले बताउनुभयो ।

स्थानीय तहका लागि संघीय सरकारले पठाएको कर्मचारी फिर्ता पठाउने, पछि मैले रोजेकै कर्मचारी चाहिन्छ भन्ने प्रबृत्ति जनप्रतिनिधीमा आएको भन्दै उहाँले स्थानीय तहले संघीय कानूनमा संशोधन गर्नुपर्छ भन्छ भने छलफल गर्न सकिने उहाँले बताउनुभयो ।

स्थानीय तहमा आएका समस्या समाधान गर्ने, समन्वय गर्ने, अनुगमन गर्ने जस्ता काम जिससको भएकाले जिससको अस्तित्वलाई आत्मासात गरेर जानु पर्ने उहाँले औल्याउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले स्थानीय तहले एकअर्कां बिच समन्वय गरेर अगाडि बढे मात्रै विकासले छलाङ्ग मार्ने बताउनुभयो । जिससले आयोजना गर्ने वार्षिक समिक्षा कार्यक्रम स्थानीय तहले गरेको कामको पारदर्शिता पनि भएको भएको बताउदै समिक्षाबाटै विकासमा आएका चुनौतीलाई कसरी समाधान गरेर जाने भनेर बिकल्प खोज्न सकिने भनाइ राख्नुभयो ।

उहाँले यसवर्ष पनि सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा जिससले रु. १५ करोडको बजेट पठाइसकेको तथा भक्तपुर र मध्यपुरथिमि नगरपालिकालाई पनि आयोजना माग अनुसार बजेट पठाउने बताउनुभयो । जिससले समन्वय, अनुगमन र विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको उहाँको भनाई छ ।

त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईले समिक्षा गोष्ठीमा सूर्यविनायक नगरपालिकाले सतप्रतिशत प्रगति गर्न सकेको र अन्य नगरपालिका प्रगतिको दौडमा पछाडि परेको टिप्पणी गर्नुभयो । अरु नगरपालिकाले पनि सूर्यविनायकबाट सिक्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा जिसस उपप्रमुख सरिता कुँवरले स्थानीय तहमा आएका समस्या समाधानमा जिससले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले स्थानीय तह र जिससको काम, कर्तवय र भूमिका प्रष्ट रुपमा तोकिएकाले विकासका लागि समन्वय र सहकार्यलाई बलियो बनाएर लैजानु पर्नेमा जोड दिनुभयो ।

त्यसअवसरमा जिल्ला समन्वय अधिकारी जगन्नाथ लामिछानेले जिससका वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सूर्यविनायक नगरपालिकाका प्रशासकीय प्रमुख कमल ज्ञवालीले स्थानीय तह मै पहिलो पटक डिजिटल प्रबिधिको प्रगोग गरी सूर्यविनायक नगरपालिकाले गरेको वार्षिक प्रगति प्रस्तुत गर्नुभयो ।

त्यसैगरी सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली, मध्यपुरथिमि नगरपालिकाका वरिष्ट इन्जिनियर सत्यनारायण शाह, चाँगुनारायण नगरपालिकाका सूचना अधिकृत सिद्धान्त न्यौपाने, भक्तपुर नगरपालिकाकाले वार्षिक प्रगति प्रतिवेदनको प्रस्तुती गर्नु भएको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com