बेलायतले नेपाललाई दियो ‘ग्रीन सिग्नल’

काठमाडौँ, २२ असोज । कोरोना महामारीका कारण बेलायत सरकारद्वारा अन्तरराष्ट्रिय यात्रा प्रतिबन्धको ‘रेडलिष्ट’मा रहेको नेपाल अन्ततः मुक्त भएको छ । ११ अक्टोबर सोमबार बिहान ४ बजेबाट लागू हुनेगरी बेलायत सरकारले नेपाल लगायतका ५४ वटा मुलुकलाई रेड लिष्टको सूचीबाट हटाएको हो । तर, कोलम्बिया, डोमिनिक रिपब्लिक, पेरु, पानामा, इक्वेडर, भेनेजुएला र हाइटी भने अझै रेडलिष्टमा नै सूचीकृत छन् ।

रेड लिष्टबाट हटेपछि अब कोभिड खोपका दुबै डोज लगाएका यात्रुले बेलायत आउँदा ११ रातको होटेल क्वारेन्टिन बसिराख्नुपर्ने छैन । रेडलिष्टको सूचीमा रहेका मुलुकबाट बेलायत आउँदा बेलायती नागरिक वा बेलायतको आवासीय अधिकार पाएका व्यक्तिले आफ्नै खर्चमा ११ रात तोकिएको होटल क्वारेन्टिन बस्नुपर्नेछ । होटल क्वारेन्टाइनबापत प्रतिव्यक्ति प्रति कोठा दुई हजार २८५ पाउण्ड अर्थात् नेपाली रुपैयाँ तीन लाख ७४ हजार जति हुन आउँछ ।

आउँदो सोमबारबाट नेपालबाट बेलायत आउनेले अनिवार्य होटल क्वारेन्टाइनबाट मुक्ति पाउनेछन् । हिन्दूहरुको महान चाड दशैको पहिली दिन घटस्थापनाका दिन भएको बेलायत सरकारको निर्णयलाई नेपालीहरुले स्वागत गरेका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com