Banner News

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै



काठमाडौँ, १६ पौष । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ ।

दिवसका अवसरमा आज कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् । यस अवसरमा बिपी सङ्ग्रहालयले पनि कार्यक्रम गर्ने जनाइएको छ । प्रत्येक वर्ष मनाइने पुस १६ गतेको मेलमिलाप दिवस औपचारिकतामा मात्र केन्द्रित भएको टिप्पणी पनि हुने गरेको छ ।

विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेतृ शैलजा आचार्य, नेताहरु खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, नीलाम्बर पन्थीलगायत नेता तथा कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए । भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरिरहेका कोइरालालगायतका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिई आजभन्दा ४९ वर्ष अघि स्वदेश फर्किएका हुन् ।

कोइरालाले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’ उपन्यास, ‘आफ्नो कथा’ (आत्मजीवनी) र जेल बस्दाको दैनिकी (पछि ‘जेल जर्नल’ शीर्षकमा प्रकाशित) लेखेका थिए । बन्दीगृहमा बस्नुअघि विसं २००८ मा उनको ‘दोषी चश्मा’ कथासङ्ग्रह प्रकाशन भएको थियो । २०३३ साल पुस १६ गतेको मेलमिलाप नीति लिई फर्केपछि फेरि सुन्दरीजल बन्दी गृहमा बन्दी बनाएपछि लेखिएको दैनिकी पनि ‘फेरि सुन्दरीजल’ नामबाट प्रकाशित भएको छ ।