काठमाडौँ, १ माघ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टी अब सबै प्रकारका परिवारवाद र गुटबाट पूर्णतः मुक्त भएको घोषणा गरेका छन् ।
काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न पार्टीको दोस्रो विशेष महाधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो घोषणा गरेका हुन्। उनले आजैदेखि पार्टी एकतावद्ध भएर अघि बढ्ने बताए । थापाले पार्टी गुटमुक्त होस् भन्ने पार्टी कार्यकर्ताहरूको वर्षौंदेखिको चाहना आज आएर पूरा भएको दाबी गरे । सभापति थापाले पार्टीलाई एकतावद्ध बनाउँदै सबै नागरिकको आफ्नो पार्टी बनाउन प्रयासरत रहने प्रतिबद्धता जनाए।
उनले भने, ‘नेपाली कांग्रेस पार्टी आजदेखि सबै खाले परिवारवादबाट मुक्त भयो । सबै गुटबाट पनि मुक्त भयो। अबदेखि कांग्रेसमा कोही ६० पनि छैन। कोही ४० पनि छैन। हामी सबै एउटै हो ।’
महाधिवेशनलाई सम्बोधन गर्दै थापाले पार्टी सभापतिको रूपमा कांग्रेस नेता कार्यकर्ताको शिर निहुरिन नदिने संकल्प पनि गरे । उनले पार्टीका सदस्यहरूको आत्मसम्मान र अभिमत जोगाउनु आफ्नो पहिलो प्राथमिकता हुने बताए ।
थापाले पार्टी नफुटेको स्पष्ट पार्दै कसैले पनि यस्तो कुरा नगर्न आग्रह गरे । उनले १४औं महाधिवेशनमा निवर्तमान सभापति देउवालाई चुनेका प्रतिनिधिहरूले नै आफूलाई सभापतिमा चुनेको उल्लेख गर्दै पार्टी विभाजित नभएको स्पष्ट पारे ।










प्रतिक्रिया दिनुहोस्