काठमाडौँ, २ फागुन । भोली (आइतबार) परेको महाशिवरात्रि पर्व तयारी पूरा भएको छ । ट्राफिक प्रहरीले उक्त पर्वको अवसरमा हुने भिड व्यवस्थापनको योजना बनाइसकेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको हो । पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीलाई सहज रूपमा आवत-जावत तथा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापन गरिएको हो ।
पशुपति दर्शन गर्न आउनेहरुका लागि निश्चित ठाउँमा पार्किङको व्यवस्था गरिएको छ ।
दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने सवारी साधन सञ्चालन गर्न नसक्ने अवस्था आएमा मात्रै गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्गको प्रयोग गरी सहज आवागमनको व्यवस्थापन गरिने ट्राफिकले जनाएको छ ।
चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाधरुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको छ तर भिडभाड अत्याधिक भई सवारी आवागमनमा समस्या हुने अवस्थामा भने डाईभर्सन गरी वैकल्पिक मार्गबाट सवारी साधन सञ्चालनको व्यवस्था मिलाउने जनाइएको छ ।
तिनकुनेबाट सिनामङ्गलतर्फ, बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्क तर्फ आउने सम्पूर्ण मालबाहक सवारी साधनहरुलाई आवश्यकता अनुसार निषेध गरिएको छ ।
बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ । गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशाला तर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने योजना छ ।
यस्तो छ पार्किङको व्यवस्था
१.सिफल चौरमा दर्शानार्थीहरुको सवारी, पास वाहक सवारी साधनहरु, सुरक्षाकर्मीका सवारी साधनहरु ।
२. गुहेश्वरी पारी तिर्थयात्री, दर्शानार्थीहरुको सवारी साधनहरु ।
३. पशुपति विकास कोषको कार्यालय / भण्डारखालमा सवारी पासवाहक सवारी साधनहरु ।
४.तिलगंगा आँखा अस्पताल र करिडोरमा तिर्थयात्री, दर्शानार्थी र पर्यटकका सवारी साधनहरु ।
५.वनकाली क्षेत्रमा शिविर संचालन गर्ने संघ संस्थाहरु, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारी साधनहरु ।
६.प्रहरी वृत्त गौशालामा पासवाहक सवारी साधन र सरकारी सवारी साधनहरु ।










प्रतिक्रिया दिनुहोस्