राजनीति

विवेकको सत्य फेला पार्न सकुन् र आत्मबोधको ज्योति प्रज्ज्वलित होस्: अध्यक्ष ओली



काठमाडौँ, ३ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महाशिवरात्रीले सबैले विवेकको सत्य फेला पार्न सकुन् र आत्मबोधको ज्योति प्रज्ज्वलित होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

आफ्नो सामाजिक सञ्जालमा आज महाशिवरात्रीको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले ऊर्जाको तेजमय प्रवाहलाई संयममा राख्ने सामर्थ्य, विषको पीडा सामना गरेर पनि शान्त रहने धैर्य र नश्वरता सम्झँदै अनासक्त जीवन जिउने सन्देश पशुपतिनाथले दिएको उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘आज महाशिवरात्रि । यो पवित्र रात्रि उपवास, जागरण र अन्तर्मनबीच संवाद गर्ने पर्व हो । ‘पशु’ अर्थात् बन्धनमा बाँधिएको चेतनालाई मुक्त गराउने र लोभ, क्रोध, मोह, अहंकारलगायत सबै पाश (बन्धन)हरूबाट निकालेर मनलाई स्वतन्त्र, शान्त र आनन्दित बनाउने प्रतीकात्मक स्वरूप नै पशुपतिनाथ हुन् । ऊर्जाको तेजमय प्रवाहलाई संयममा राख्ने सामर्थ्य, विषको पीडा सामना गरेर पनि शान्त रहने धैर्य र नश्वरता सम्झँदै अनासक्त जीवन जिउने सन्देश पशुपतिनाथले दिएका छन् । बाहिरको कोलाहलमा होइन, भित्रको विवेकमा सत्य निहित छ । आजको यस दिनमा सबैले विवेकको सत्य फेला पार्न सकुन् र आत्मबोधको ज्योति प्रज्ज्वलित होओस् ।’