पोखरा, ६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्की निर्वाचन क्षेत्र नम्बर २ ले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । कोशी प्रदेशका पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, एमालेका केन्द्रीय सदस्य प्रभा कोईराला, एमालेका पूर्व केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभा सदस्य भीम कार्की, प्रतिनिधिसभा सदस्य उम्मेदवार रश्मी आचार्य, समानुपातिक तर्फका उम्मेदवार दिपक पौडेल, एमाले कास्कीका कार्यवाहाक अध्यक्ष भेषराज बरालसहितले सो प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् ।
मंगलबार सार्वजनिक प्रतिबद्धता पत्रमार्फत एमालेले सुशासन, भ्रष्टाचार नियन्त्रण र समृद्ध कास्की निर्माणको विस्तृत खाका अघि सारेको छ । सो कार्यक्रममा बोल्दै उम्मेदवार आचार्यले देश अहिले इतिहासकै कठिन मोडबाट गुज्रिरहेको उल्लेख गर्दै संविधान, राष्ट्रिय स्वाधीनता र राजनीतिक स्थिरताको रक्षा आफ्नो प्राथमिकता रहने बताए । उनले राष्ट्रहितलाई केन्द्रमा राख्दै संविधानमा आवश्यक संशोधन, स्थिर सरकार र आर्थिक विकासका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणमार्फत जनताले सहज र छिटो सेवा पाउने वातावरण सिर्जना गर्ने उल्लेख गर्दै उनले जनमैत्री कानून निर्माणमा जोड दिने बताए । साथै भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गरी जमिन र आवासको अधिकार सुनिश्चित गरिने उनको प्रतिबद्धता छ । पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन, स्वास्थ्य, ध्यान, योग, शिक्षा र संस्कृतिको केन्द्रका रूपमा विकास गर्ने योजना समेत प्रतिबद्धता पत्रमा समेटिएको छ । यसैगरी नयाँ पर्यटकीय स्थल, सेवा र पूर्वाधार विस्तार गरी पर्यटकको बसाइ अवधि लम्ब्याउने लक्ष्य राखिएको छ ।
प्रतिबद्धता पत्रमा जेष्ठ नागरिक, एकल महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अशक्त समुदायका लागि सेवा–सुविधा विस्तार गर्ने योजना उल्लेख गरिएको छ । गुणस्तरीय तथा प्राविधिक शिक्षाको विकासमार्फत युवाको विदेश पलायन रोक्ने, रोजगारी सिर्जना गर्ने र स्वरोजगार प्रवद्र्धन गर्ने लक्ष्य पनि राखिएको छ । त्यसैगरी कृषक, श्रमिक, जनजाति, शहरी मजदुर लगायत पछाडि परेका वर्गको अधिकार संरक्षण, सामाजिक सुरक्षा कार्यक्रम विस्तार तथा योगदानमा आधारित सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
आचार्यले कास्की क्षेत्र नम्बर २ को समग्र विकास, स्थानीय मुद्दाको संसदमा सशक्त आवाज उठाउने तथा नयाँ पुस्ताको नेतृत्व स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्दै ‘सबैको साथ, सबैको विकास’ अवधारणाअनुसार अगाडि बढ्ने बताए । एमालेले आचार्यको उम्मेदवारीलाई सुशासन, स्थिरता र समृद्धिको अभियानसँग जोड्दै कास्कीको दीगो विकासका लागि निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरेको निर्वाचन परिचालन समितिका सहसंयोजक झपट रानाभाटले जानकारी दिए ।
प्रतिवद्धताको पूर्णपाठ,
सम्बृद्धिका लागि हाम्रा प्रतिबद्धता : जनमैत्री कार्ययोजनाहरुको निरन्तरता
(क) आर्थिक सम्बृद्धिका लागि पर्यटन विकास एवम् प्रवद्र्धन
(१) पर्यटकीय राजधानी घोषित प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पोखरालाई विश्वमा भ्रमण गर्नु पर्ने एक उत्कृष्ट गन्तव्यको रुपमा विकास गर्न आवश्यक सेवा सुविधाको विस्तार गरी दोब्बर संख्यामा पर्यटक भित्र्याउन पर्यटन पूर्वाधारको विकास एवं प्रवद्र्धनमा जोड दिइने छ ।
(२) अर्मलाकोट, ढीकीडाँडा, काहुँ–धरहरा, मौजा, भलाम, निर्मलपोखरी, कृस्ती र भरतपोखरी लगायतका पोखरा उपत्यकाका वरिपरि रहेका डाँडाहरुमा पर्यटन पूर्वाधार विकास कार्यक्रम मार्फत् हाइकिङ्ग पदमार्ग, दृश्यावलोकन केन्द्र, सूर्योदय र सूर्यास्त अवलोकन केन्द्र निर्माणमा जोड दिइने छ ।
(३) यस क्षेत्रका ग्रामिण वस्तीहरुमा नेपाली मौलिक शैलीको आवाश तथा भौतिक निर्माणलाई पर्यटक मैत्री बनाउँदै विभिन्न समुदायका सघन वस्तीहरुमा कृषि पर्यटन प्रबद्र्धनका लागि घरबास कार्यक्रम ९ज्यmभ क्तबथ० सेवालाई प्रोत्साहन गरी पर्यटकीय आकर्षणमा विविधीकरण गरिनेछ ।
(४) पातालेछाँगो, गुप्तेश्वरगुफा, रविन्द्र स्मृतिगुफा, हरिहरगुफा, महेन्द्रगुफा, चमेरेगुफा लगायतका गुफाहरुको विस्तृत गुरुयोजनामार्फत व्यवस्थित तथा सौन्दर्यकरण गरी आकर्षक पर्यटकीय स्थानमा विकास गरिनेछ ।
(५) कृस्ती, निर्मलपोखरी, भरतपोखरी (मट्टिखान–हुँडीकोट) डाँडाको धुरीमा पर्यटकीय आकर्षणको थिमपार्क सहितको रिजलाइन हाइकिङ्ग मार्फत पर्यटन गतिविधि अगाडि बढाइनेछ ।
(६) यस क्षेत्रका मठ मन्दिर र धार्मिक स्थलहरुको संरक्षण, जीर्णोद्धार र प्रभावकारी व्यवस्थापन गर्दै आवागमनमा सहजता प्रदान एवं प्रचार प्रसार गरी धार्मिक पर्यटनको विकासमा जोड दिइनेछ ।
(७) पर्यटक आवागमन सुविधालाई विस्तार गर्न पोखराबाट भिमादहुँदै कावासोती मधेश जोडने फास्ट ट्रयाकको निर्माण र हवाइ सेवालाई जनकपुर, विराटनगर र धनगढी शहरहरुसम्मको विस्तार कार्यलाई नियमित गर्न जोड दिइनेछ ।
(८) पोखरा क्षेत्रमा साहसिक पर्यटन प्रवद्र्धन गर्न उत्तरतर्फ मनाङ–मुस्ताङसम्म जाने नयाँ पदमार्गको पहिचान गरी सर्वेक्षण एवं विकास गरिनेछ ।
(९) सबै जात–जाति र समुदायको सघन वस्तीमा साँस्कृतिक ग्रामको विकास गर्न प्रोत्साहन र समुदायका परम्परागत संस्कृति र संस्कार झल्किने गरी डकुमेन्ट्री प्रदर्शन गर्न गण्डकी प्रादेशिक संग्रहालयको स्तरोन्नति गरिने छ ।
(ख) स्थानीय उत्पादन वृद्धिका लागि कृषि, सिंचाइ एवं पशुपालनः
(१) अर्मला, मौजा, काहँु, भरतपोखरी, निर्मलपोखरी, भलाम तथा कृस्ती जस्ता ठाँउहरुमा तरकारी तथा फलपूmल खेती एवं नगदेवालीको विकासका लागि पकेट जोन बनाएर कृषकलाई उत्पादनका आधारमा प्रोत्सान गरिने छ ।
(२) पोखरामा प्रादेशिक स्तरको दुग्ध संकलन, प्रशोधन र उत्पादन केन्द्रको स्थापना गरी संचालन गर्न राज्यको ध्यानाकर्षणका लागि विशेष जोड गरिनेछ ।
३) कृषकहरुलाई पशुपालन एवं प्राङ्गारिक तरकारी खेतीतर्फ प्रोत्साहन गर्न कृषि उपज तथा पशुधनको विमा गर्ने र उत्पादनलाई पर्यटन बजारसँग जोड्न स्थानीय तहको समन्वयमा पहल गरिनेछ ।
(४) कृषि उत्पादन बृद्धिका लागि जैविक तथा प्राङ्गारिक मल उत्पादन गर्न र उत्पादित कृषि उपजको सुरक्षणका लागि बाँदर नियन्त्रण गर्ने नीति बनाउन पहल गर्नुका साथै, शित भण्डारण र बजारिकरण कार्यलाई स्थानीय तहको समन्वयमा प्राथमिकताका साथ अगाडि बढाईनेछ ।
(५) कृषि योग्य जमिनहरुको संरक्षण एवं आवश्यकता अनुसार सिंचाई सुविधा उपलब्ध गराउने कार्यलाई स्थानीय तहको समन्वयमा निरन्तरता दिइनेछ ।
(६) मौजा र अर्मलाको लेकमा उपयुक्त जडिबुटी तथा वन पैदावर उत्पादन एवं पशुपालन फार्महरुको स्थापना मार्फत व्यावसायिक उत्पादन तथा विक्री वितरण गर्न जोड दिइनेछ ।
(७) सुरांैदी खोला, फुस्रे खोला, काली खोला र सेतीनदीका सिमसार तथा जलाधार क्षेत्रको संरक्षण गर्दै अर्गानिक तरकारी तथा फलफूल र नगदे बाली, मौरी तथा माछा पालन एवं पशुपालन कार्यक्रम मार्फत ग्रामीण पर्यटन विकासको आधारशीला तय गरिनेछ ।
८) कृषि वजारलाई प्रोत्साहन र व्यवस्थित गर्न स्थानीय तहको समन्वयमा आधुनिक प्रविधिमैत्री चिस्यान केन्द्र, थोक तथा खुद्रा कृषि उपज विक्री केन्द्र, विक्रि वितरणका लागि ‘कोसेली घर’ को स्थापनाका लागि जोड दिइनेछ ।
(ग) सम्बृद्धिका लागि शिक्षा एवं सूचना प्रविधिः
१) सरकारी तथा सामुदायिक विद्यालय तथा क्याम्पसहरुको भौतिक निर्माण तथा स्तरोन्नति गर्दै गुणस्तरीय व्यवहारिक शिक्षाका लागि प्राविधिक शिक्षालयमा रुपान्तरण गरी संवृद्धिमा टेवा पुर्याउन रोजगारी प्रवद्र्धन गरिनेछ ।
२) सरकारी तथा सामुदायिक विद्यालयहरुमा संचालित वालविकास कार्यक्रमलाई नियमित बनाउन आवश्यक जनशक्ति देखि पोषण कार्यक्रमका लागि आवश्यक नीति तथा श्रोतको तय गरी कार्यान्वयनमा जोड दिइनेछ ।
(३) गण्डकी विश्वविद्यालय र यस क्षेत्रका अन्य शैक्षिक संस्थाहरुमा पर्यटन, कृषि, वन, स्वास्थ्य, इन्जिनियरिङ्ग, सूचना प्रविधि, संगीत, खेलकुद, सौन्दर्यशास्त्र जस्ता रोजगारमुखी विषयमा नयाँ कार्यक्रम सञ्चालन गर्न जोड दिइनेछ ।
(४) वन विज्ञान पोखरा क्याम्पसलाई समग्र हिन्दकुश क्षेत्रको वन, वन्यजन्तु, जैविक विविधता, पर्यापर्यटन र वातावरणको अध्ययन अनुसन्धान गर्ने मानित विश्वविद्यालयको रुपमा विकास गर्न आवश्यक पहल गरिनेछ ।
५) भूमिहीन, उत्पीडित एवं विपन्न वर्गको सहज पहुँच पुग्नेगरी शिशु स्याहारदेखि वाल विकाससम्मका कार्यक्रमहरुको व्यवस्थित संचालनका लागि विशेष जोड दिइनेछ ।
(घ) यातायात तथा सडक सन्जालको विस्तार एवम् स्तरोन्नती
(१) पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित वैदेशिक उडान सुचारु गर्न नेपाल सरकार मार्फत छिमेकी राष्ट्रहरुमा कुटनीतिक पहल गर्नका लागि आवश्यक प्रयत्न गरिनेछ ।
(२) सुरांैदी खोला देखि स्याङ्जाको पौवैगौँडेसम्म सडकको स्तरोन्नति एवं आवश्यक पुलहरुको निर्माण गरिनेछ भने लामेआहालदेखि वागमारा हुँदै छोरेपाटनसम्मको सडकलाई बाईपास रोडमा स्तरोन्नति गरिनेछ ।
(३) पोखरा उपत्यकालाई सडक संजालबाट सहजता बनाउन लिंकरोड निर्माणमा जोड दिईने छ भने वाह्य सडक सन्जालसँग जोड्न आवश्यक स्थानहरुमा सुरुङ्गमार्गको संभाव्यता अध्ययन अगाडि बढाइने छ ।
(४) पोखरा बसपार्कलाई सूचना प्रविधिमैत्री व्यवस्थित सिटी बसपार्क तथा विभिन्न स्थानमा व्यवस्थित टयाक्सी पार्कको निर्माणका लागि स्थानीय तहको समन्वयमा पहल गरिनेछ ।
(५) पोखराको मुख्य बजार क्षेत्रबाट ग्रामीण स्थानसम्म जाने सडकहरु एवं सबै वडाहरुमा सहज आवागमनका लागि आवश्यक विभिन्न स्थानहरुमा स्थानीय तहको समन्वयमा पुलहरुको निर्माण गरिनेछ ।
(ङ) स्वास्थ्य तथा सुरक्षा सेवा र खानेपानी
(१) सबै वडाहरुमा एकीकृत सेवा केन्द्र, सुरक्षित मातृत्व सेवा सहितको स्वास्थ्य चौकी तथा प्रवद्र्धन केन्द्र, जेष्ठ नागरिक दिवासेवा केन्द्र, सामुदायिक सेवा भवन आदिबाट स्थानीय तहसँगको समन्वयमा सुविधा विस्तार गरिनेछ ।
(२) पोखराको मुख्य बजार लगायत अर्मला, भलाम, काहँु, कृस्ती, निर्मलपोखरी र भरत पोखरीमा संचालित साना शहरी र सह–लगानीमा निर्माणाधीन खानेपानी आयोजनालाई सम्पन्न गरी व्यवस्थित एवं सर्वसुलभ बनाइनेछ ।
(३) आधारभूत स्वास्थ्य सेवालाई सर्वशुलभ बनाउने नीतिका साथ पोखरा–१६ मा अवस्थित मातृशिशु अस्पताल र पोखरा–१७ मा अवस्थित हिमालय आँखा अस्पतालको सेवा विस्तार तथा स्तरोन्नतिका लागि पहल गरिनेछ ।
(४) पोखरामा आम नागरिकका लागि सर्वशुलभ उपचार प्राप्त गर्न सकिने विशिष्टीकृत सेवा सहितको अस्पताल स्थापनाको लागि विशेष पहल गरिनेछ ।
(च) नदी, खोला तथा ताल संरक्षण एवम् फोहोर व्यवस्थापन
(१) सेती नदी, सुरौदी, काली, फुस्रे, फिर्के जस्ता खोलाहरुको करिडोरमा जैविक विविधता, जलाधार एवं सिमसार क्षेत्र संरक्षण, पैदल मार्ग निर्माण, छेकबाँध एवं तटबन्ध निर्माणका लागि योजनाहरु बनाई लागू गरिनेछ ।
(२) सेती नदी एवं यसका सहायक खोलाहरु काली, फुस्रे, सुरौदी किनारा हुँदै युटिलिटी करिडोर निर्माण गरी शहरलाई व्यवस्थित बनाउनको लागि पहल गरिनेछ ।
(३) नगर क्षेत्रको फोहर व्यवस्थापन गर्न फोहरबाट उर्जा तथा कम्पोष्ट मल बनाउने प्रविधियुक्त उद्योग स्थपनाको लागि स्थानीय तहको समन्वयमा आवश्यक प्रोत्साहन गरिने छ ।
(४) फेवातालको ड्यामसाइड, भलामको कालीखोला र फुस्स्रेखोला दोविल्ला क्षेत्रको बस्ती संरक्षण र सौन्दर्यकरण गरी स्थानीय तहको समन्वयमा दिगो पर्यटन विकासका लागि गुरु योजना बनाई कार्यान्वयन गरिने छ ।
(छ) खेल मैदान, व्यायमशाला, पार्क तथा मनोरञ्जन स्थल
(१) विभिन्न वडाका उपयुक्त स्थानहरुमा शारीरिक व्यायमशाला एव टेवल टेनिस, व्याडमिन्टन,ं भलिवल, फुटवल, क्रिकेट लगायतका खेलकुद मैदानहरुको स्तरोन्नति एवं नयाँ निर्माण कार्यमा जोड दिइनेछ ।
(२) फेदीपाटन एवं शान्तिनगरमा रहेको पुस्पलाल पार्क, बाटुलेचौर स्थित मदनआश्रित पार्क, भरतपोखरीमा रहेको रविन्द्र स्मृति पार्क, साहारा पार्क दोविल्ला, माछापुच्छे« प्रतिविम्ब पार्क ड्यामसाइड लगायतका अन्य उपयुक्त स्थानमा समेत स्थानीय तहको समन्वयमा आकर्षक पार्क निर्माण गरी पर्यटकीय स्थलका रुपमा विकास गरिने छ ।
(३) शान्ति वनबाटिका, वनपाले डाँडा, बौद्धगुम्बा क्षेत्र, भलामको हरिहर गुफा, चमेरे गुफा माथिको वन क्षेत्र, थामाको डाँडा लगायतका स्थानलाई शहरी वन कार्यक्रममार्फत् जैविक विविधता पार्क र वानस्पतिक उद्यानका रुपमा विकास गर्न जोड दिइनेछ ।
(ज) थप कार्ययोजनाहरु
(१) भूमिहीन, सुकुम्वासी एवम् अव्यवस्थित बसोबासीहरुको समस्याको दीर्घकालीन समाधान गर्न संविधान प्रदत्त जमिन र आवासको अधिकार स्थापित गर्न पहलकदमी लिइनेछ ।
(२) पर्यटन राजधानी घोषणा भइसकेको पोखरा शहरलाई आधुनिक सुविधायुक्त साहसिक खेलकुद तथा माइस पर्यटन सेवा सहितको शहरका रुपमा विकास गरिनेछ ।
(३) प्राकृतिक विपत्तिको जोखिमलाई न्युनीकरण र व्यवस्थापन गर्न आधुनिक प्रविधि सहितको स्रोतसाधानयुक्त प्रादेशिक विपद व्यवस्थापन केन्द्रको स्थापना एवं उद्धार कार्यका लागि तालिम प्राप्त जनशक्तिको व्यवस्था गरिनेछ ।
(४) जेष्ठ नागरिक, एकल महिला, असक्त, पिछडिएका तथा गरिबीमा रहेका जनसंख्याको उत्थानका लागि जनशक्ति विकास विशेष कार्यक्रमहरु मार्फत शसक्तिकरण एवं सामाजिक सुरक्षा भत्ताको निरन्तरता र श्रमजिवीहरुको लागि योगदानमा आधारित सामाजिक सुरक्षाका वहु आयम पहिचान गरी कार्यान्वयन गर्न जोड दिइने ।
(५) यस क्षेत्रको आर्थिक संवृद्धि र रोजगारी वृद्धिका लागि उद्योग व्यवसाय संचालन गर्न स्वदेशी तथा विदेशी पूँजीलाई आर्कषित गर्ने नीतिका साथ पोखरा–३३, पुँडीटारमा प्रस्तावित प्रादेशिक औद्योगिक क्षेत्रलाई आधुनिक पूर्वाधारसहित निर्माणका लागि पहल गरिनेछ ।
(६) युवा स्वरोजगारको कार्यक्रमलाई प्रभावकारी बनाउन कृषि, पर्यटन र साना व्यवसाय संचालन गर्न आवश्यक सीप, तालिम तथा लगानी मैत्री वातावरण कायम गरी उद्यमशीलताको लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिनेछ ।
(७) पिछडिएका, विपन्न तथा संकटमा रहेका जाती तथा समुदायको उत्थानका लागि उनीहरुको जीविकोपार्जन र जीवनस्तर सुधार गर्न युवाहरुलाई अध्ययन अनुसन्धानमा अभिप्रेरित गर्न पहल गरिने छ ।
(८) पोखराको पुरानो विमानस्थल रहेको ठाउँमा स्थानीय समुदायको चाहनाअनुरुप शहरको सौन्दर्यकरणको अभिन्न अंग बन्ने गरी खुला स्थानको रुपमा राखी आवश्यक संरक्षण र व्यवस्थापन गर्न अगुवाइ गरिने छ ।
९) पोखराको पुरानोबजार एवं अन्य स्थानका धार्मिक मठ मन्दिर, नदीका घाटहरु र पुरातात्विक महत्वका स्थलहरुको स्थानीय तहको समन्वयमा संरक्षण गर्न जोड दिइनेछ ।
१०) जनसहभागितामा आधारित सन्तुलित विकासको अवधारणा मार्फत यस क्षेत्रको विशिष्टता अनुरुप “सबको साथ सबको विकास’ ‘संग संगै विकास र जीवनसंग जोडिएको विकास ” अवधारणा अनुरुपको कार्यक्रमलाई अगाडि बढाउन प्रत्यक छ महिनामा वडास्तरसम्म नियमित संवाद एवं छलफल गरिनेछ ।
११) राष्ट्रको स्वाधिनता र सार्वभौमिकता, जनताको स्वतन्त्रता र सामाजिक न्याय, सुशासन र जनमैत्री व्यवस्थाको लागि संविधानको संशोधन एवं संरक्षण गर्दै संसदमा आवाज बुलन्द गर्न र नवयुवा पुस्ताको भूमिकालाई राज्यको नेतृत्व गर्ने निर्णायक तहमा पुर्याउन आवश्यक भूमिका निर्वाह गरिनेछ ।









प्रतिक्रिया दिनुहोस्