Banner News

एमाले देश बनाउने शक्ति हो : ईश्वर पोखरेल



काठमाडौँ, ६ फागुन । काठमाडौँ क्षेत्र नम्बर ५ मा नेकपा (एमाले)का उम्मेदवार ईश्वर पोखरेलले चुनावी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तीव्र पार्नुभएको छ । नेता पोखरेलले घरदैलोका क्रममा टोलटोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्नुहुँदै आफ्ना योजना सुनाइरहनुभएको छ ।

टोखामा भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पोखरेलले एमाले देश बनाउने शक्ति भएको उल्लेख गर्दै पार्टीले सधैं देश निर्माणका लागि काम गर्दै आइरहेको बताउनुभयो । 

“एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन,” पोखरेलले भन्नुभयो । नेता पोखरेलले एमालेलाई विजयी गराउन सबै कार्यकर्ता तथा समर्थकलाई जनताको बीचमा पुगेर पार्टीका एजेन्डा राख्न अनुरोध पनि गर्नुभयो । साथै, उहाँले जनताका गुनासा, आलोचना र समस्याहरू सुन्ने र समाधानतर्फ लाग्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । नेता पोखरेलले फरक परिस्थितिमा हुन लागेको यो निर्वाचनमा देशलाई सही ट्याकमा ल्याउनैका लागि देशभर एमालेको जित आवश्यक रहेको औँल्याउनुभयो ।

घरदैलोका क्रममा नेता पोखरेलले २१ फागुनमा हुन गइरहेको निर्वाचनलाई लक्षित गर्दै यस क्षेत्रका लागि आफूले तयार पारेका विकासका योजनाहरू जनतासमक्ष प्रस्तुत गरिरहनुभएको छ । काठमाडौं क्षेत्र नम्बर ५ लाई नमूना क्षेत्र बनाउने प्रतिबद्धतासहित पोखरेल मत माग्न व्यस्त हुनुहुन्छ ।