काठमाडौँ, ६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनबाट देशमा व्याप्त कुशासन र बेथितिको ‘सटर’ सधैँका लागि बन्द हुने दाबी गरेका छन् ।
आज सुदूरपश्चिमको धनगढीमा आयोजित विशाल चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले अब जनताले नेतालाई भोट मात्र दिने नभई ‘कन्ट्रयाक्ट’ गर्ने युगको सुरुवात भएको बताएका हुन् ।
उनले वर्षौँदेखि जनताका मुद्दालाई चुनावी घोषणापत्रमा आकर्षक अक्षरले लेख्ने तर पूरा नगर्ने राजनीतिक परिपाटीको अन्त्य गर्न रास्वपा मैदानमा आएको जिकिर गरे । नेपालको इतिहासमा पहिलोपटक रास्वपाले जनतासँग लिखित सम्झौता गरेको दाबी गर्दै सभापति लामिछानेले यसपटक ५ वर्षको स्थायी सरकार चलाउने म्यान्डेट दिन मतदातासँग आग्रह गरे ।
अहिलेसम्म नेताले वाचा गर्ने र त्यो पूरा नहुँदा जनताले नै सजाय भोग्नुपर्ने अवस्था रहेको भन्दै उनले अब वाचा पूरा नगर्ने नेताले सजाय पाउने पद्धति बसाल्नुपर्नेमा जोड दिए । सिंहदरबारको संरचना मात्र नभई त्यहाँको कार्यशैली र नियत बदल्न रास्वपा प्रतिबद्ध रहेको उनको भनाइ छ ।
पुराना दलहरूले रास्वपा आए गरिबको बस्तीमा डोजर लगाउँछन् भन्दै भ्रम फैलाएको आरोप लगाउँदै लामिछानेले ३५ वर्षसम्म जनताको सपनामाथि कसले डोजर चलायो भनी प्रतिप्रश्न गरे । उनले सुदूरपश्चिमका समस्यालाई भोट बैंक मात्र बनाउने युगको अन्त्य गर्ने प्रतिवद्धता जनाए । भ्रष्टाचार र बेथिति आधा होइन, पूर्ण रूपमा जरैदेखि उखेल्नका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फ ‘घण्टी’ चिह्नमा मतदान गर्न उनले आह्वान गरे ।









प्रतिक्रिया दिनुहोस्