राजनीति

प्रजातन्त्र दिवशमा केपी ओलीद्वारा तीन जिम्मेवारी स्मरण



काठमाडौँ, ७ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज प्रजातन्त्र दिवशको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।

आफ्नो सामाजिक सञ्जालमा आज प्रजातन्त्र दिवशको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले प्रजातन्त्रलाई जनताको साहस, त्याग र बलिदानले जहानियाँ राणा शासनको अन्त्य गरी स्वतन्त्रता र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिनको रुपमा स्मरण गर्नुभयो । उहाँको आफ्नो शुभकामना सन्देशमा तीन वटा जिम्मेवारीहरुलाई उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘आज प्रजातन्त्र दिवस, जनताको साहस, त्याग र बलिदानले जहानियाँ राणा शासनको अन्त्य गरी स्वतन्त्रता र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन । प्रजातन्त्रका लागि आफ्नो जीवन अर्पण गर्नुहुने अमर शहीदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली तथा सम्मान ।

आजको दिनले हामीलाई तीन महत्वपूर्ण जिम्मेवारी स्मरण गराउँछ –

पहिलो, राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै राष्ट्रको गरिमा जोगाउने । दोस्रो, संविधानको संरक्षण गर्दै जनताका लोकतान्त्रिक अधिकार र मूल्यलाई जीवित राख्ने । तेस्रो, आम विध्वंसबाट क्षतविक्षत भएका राष्ट्रका धरोहर, हाम्रो समृद्ध मानवीय संस्कृति, उद्योग र पूर्वाधारको पुनर्निर्माण गर्दै नागरिकको सुरक्षा गर्ने ।

आजको ऐतिहासिक दिनबाट प्रेरणा लिँदै हामी सबै जागरूकता पूर्वक अघि बढ्न सकौं । प्रजातन्त्र दिवसको हार्दिक शुभकामना ।’