समाचार

रौतहटमा कर्फ्यू जारी



रौतहट, ९ फागुन । रौतहटमा कर्फ्यू आदेश जारी भएको छ ।

गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच भएको झडपले उग्र रुप लिएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार, शनिबार दिउँसो १ बजेबाट कर्फ्यू आदेश जारी गरिएको हो ।

मस्जिदमा प्राथना भइरहेको बेलामा हिन्दू समुदायले बाजा बजाएको भन्दै विवाद सुरु भएको थियो । घटनापछि शुक्रबार बिहानैबाट रौतहटका गौर क्षेत्र तनावग्रस्त बन्न पुगेको छ । अहिले पनि अवस्था असामान्य बन्दै गएपछि कर्फ्यू जारी गरिएको हो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अश्रुग्यासका सेलहरू प्रहार गरिरहेको छ । गौरको वडा नम्बर ४, ५ र ६ मा झडप भइ रहेको छ । कर्फ्यू अवधिमा कुनै पनि व्यक्ति घरबाहिर निस्कन, भेला जुलुस गर्न, सभा प्रदर्शन गर्न तथा आवतजावत गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।

झडपका क्रममा प्रदर्शनकारीहरुले केही सवारी साधनमा आगजनी गरेका छ्न् भने घरमा तोडफोड भएको तथा केही व्यक्ति सामान्य घाइते भएको प्रहरीले जनाएको छ । अवस्था बिग्रन नदिन प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरेको छ।