राजनीति

कांग्रेसद्वारा धादिङ बस दुर्घटनाप्रति दुःख व्यक्त



काठमाडौँ, ११ फागुन । धादिङमा बसेको बस दुर्घटनाप्रति नेपाली कांग्रेसले दुख व्यक्त गरेको छ । 

पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस आज बिहान करिब १ः३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. ५ भैसिगौडा भन्ने ठाउँबाट त्रिशूली नदीमा खस्दा १९ जनाको मृत्यु भएको थियो । 

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सोमबार एक वक्तव्यमार्फत दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले मृतकहरूको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

सभापति थापाले घाइतेहरूको उपचारको उचित प्रबन्ध मिलाउन सरकारसँग आग्रह पनि गरेका छन्। पछिल्लो समय यस्ता सडक दुर्घटनाहरू बढ्दै गइरहेकोले तत्काल एक कार्यदल गठन गरी घटनाहरूको गहिरो अध्ययन गरी यस्ता घटनाहरू न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराउन उनले जोड दिएका छन् ।