काठमाडौँ, १२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुख इन्दिरा रानामगरको बचाउ गर्दै पुराना राजनीतिक दल र तिनका नेताहरूमाथि कडा प्रहार गरेका छन् ।
आज बिहान झापाको विर्तामोडमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले इन्दिरा रानामगरलाई मानव तस्करको आरोप लगाउनेहरूलाई पाप लाग्ने बताए ।
उनले भने, ‘म त्यस्तो मान्छेसँग उभिएको छु, जसका आफ्ना सन्तान छैनन् तर यो देशका सयौँ–हजारौँ बालबालिकाले उनलाई आफ्नो आमा मान्छन् । जेल परेका बाबुआमाका छोराछोरीलाई उच्च शिक्षा दिलाएर उज्वल भविष्य बनाइदिने आमा हुन् इन्दिरा राना,’ ‘यस्तो पवित्र व्यक्तित्वलाई समेत अपमानित गरेर मानव तस्करको आरोप लगाउनेहरूलाई पाप लागेको छ । विश्वले सुनोस्, इन्दिरा राना मगर एउटा गौरवशाली नाम हो ।’
आफ्नो सम्बोधनका क्रममा सभापति लामिछानेले पूर्वसभामुख देवराज घिमिरेलाई संकेत गर्दै गम्भीर प्रश्न उठाए । ‘मलाई थाहा छैन, पूर्वसभामुख कुन मुख बोकेर भोट माग्दै हुनुहुन्छ ? हामीले संसदमा भिजिट भिसामा नेपाली जनता ठगिएका छन्, छानबिन गरौँ भनेर आवाज उठाउँदा उहाँले माइक काटिदिनुभयो,’ लामिछानेले भने ।










प्रतिक्रिया दिनुहोस्