समाचार

रुख घरमाथि ढल्दा च्यापिएर एक जनाको मृत्यु



काठमाडौँ, १४ फागुन । कञ्चनपुरको वेदकोट नगरपालिकामा कच्ची घर छेउमै रहेको रुख घरमाथि ढल्दा च्यापिएर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घरमा रुख ढलेर वेदकोट नगरपालिका–३ पेलितालका ५० वर्षीया शारदादेवी महताको आज बिहान मृत्यु भएको हो ।

त्यसैगरी सोही घरमा रहेकी ४० वर्षीया सीता महता घाइते भएको प्रहरीले जनाएको छ । उनको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।