राजनीति

पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीद्वारा खाडी तनावबारे सरकारको ध्यानाकर्षण



काठमाडौँ, १७ फागुन । पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खाडी क्षेत्रमा चर्किएको तनाव र विकसित हुँदै गएको युद्धस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले अमेरिका र इरानबीचको वार्ता भङ्ग भएसँगै उत्पन्न परिस्थितिले समग्र मध्यपूर्व अस्थिर बन्न सक्ने संकेत गरेको बताएका छन् । तनाव तीव्र बन्दै जाँदा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेको तथा प्रत्युत्तरमा इरानले यूएई, कतार, कुवेत, बहराइन, जोर्डन, इराक र साउदी अरबमा रहेका अमेरिकी सुरक्षा बेस तथा अन्य संरचनालाई निशाना बनाएको छ । यस घटनाक्रमले क्षेत्रीय युद्धको सन्त्रास बढाएको ज्ञवालीले बताएका छन् ।

उनले भनेका छन्, ‘खाडी क्षेत्रमा चर्किएको तनाव र सुरू भएको युध्दले चिन्तित तुल्याएको छ । अमेरिका र इरान बिचको वार्ता भङ्ग भएसँगै अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेका छन् । प्रत्युत्तरमा इरानले युएई, कतार, कुवैत, बहराइन, जोर्डन, इराक़ र साउदी अरबमा राखिएका अमेरिकी सुरक्षा बेस र अन्य संरचनालाई निशाना बनाएको छ । क्षेत्रीय युद्धको सन्त्रास बढेसँगै त्यस क्षेत्रमा कार्यरत १० लाखभन्दा नेपाली श्रमिकको सुरक्षामा गंभीर जोखिम पैदा भएको छ । नेपालीहरूको सुरक्षा र आवश्यक पर्दा आपद्कालीन उध्दारको तयारी गर्न नेपाल सरकारको ध्यानाकर्षण गर्दछु । नेपाली दूतावास र सम्बन्धित सरकारका निर्देशनको पालना गर्न नेपाली मित्रहरूलाई आग्रह गर्दछु र युद्धरत पक्षलाई तत्काल युद्ध विरामका लागि माग गर्दछु । नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई धैर्य र संयमित रहन आह्वान गर्दछु ।’