राजनीति

विविधताबीचको एकता नै नेपालीको पहिचान र सुन्दरता हो : राष्ट्रपति पौडेल



काठमाडौँ, १८ फागुन । राष्ट्रपति रामचन्द्र राष्ट्रपति पौडेलले होलीमा खेलिने विविध रङ्गहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रुपमा विविधतापूर्ण रहेको र त्यही विविधताबीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता भएको उल्लेख गरेका छन् ।

होली पर्वको सुखद अवसरमा सोमबार एक शुभकामना सन्देश जारी गर्दै पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी कामना गरेका छन् । उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि मङ्गलमय शुभकामना व्यक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलद्वारा जारी सन्देशमा भनिएको छ, “होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्धन गर्न तथा समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।”