समाचार

लागुऔषध र साढे १२ लाख नगदसहित दुई जना पक्राउ



काठमाडौँ, १८ फागुन । काठमाडौँको विजयचोकस्थित एक किराना पसलबाट प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नगद र लागुऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

लागुऔषध ओसारपसार तथा कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका-९ मा रहेको शिवानि स्टोरमा छापा मारेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-१ घर भई हाल काठमाडौँ बस्ने ३२ वर्षीय रवीन्द्र खत्री र ३७ वर्षीय सन्तोष खत्री रहेका छन् । प्रहरीले उनीहरूको शरीर र पसलको खानतलासी गर्दा स्रोत नखुलेको १२ लाख ४७ हजार रुपैयाँ नगद फेला पारेको छ । बरामद रकममा एक हजार दरका ८५६ थान र पाँच सय दरका ७८२ थान नोट रहेका छन् ।

नगदका साथै प्रहरीले उनीहरूको साथबाट ५० ग्राम गाँजाको धुलो र ४६० ग्राम गाँजा समेत बरामद गरेको छ । साथै, कारोबारमा प्रयोग भएको आशंका गरिएको बा ८८ प १३२१ नम्बरको स्कुटर र तीन थान मोबाइल फोन समेत प्रहरीले नियन्त्रणमा लिएको छ । 

पक्राउ परेका उनीहरूमाथि लागुऔषध र अवैध रकमका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।