एजेन्सी, २० फागुन । अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानका झण्डै २ हजार ठेगानाहरूमा शक्तिशाली आक्रमण गरेको दाबी गरेको छ। सेन्टकमका प्रमुख एडमिरल ब्राड कुपरका अनुसार यस अभियानमा इरानका १७ वटा पानीजहाज र एउटा पनडुब्बी समेत ध्वस्त पारिएको हो।
सामाजिक सञ्जाल एक्समा एक भिडियो सन्देश जारी गर्दै कुपरले यसलाई एक पुस्तायताकै सबैभन्दा ठूलो अमेरिकी सैन्य परिचालनको रूपमा चित्रण गरेका छन्। हाल यस अपरेसनमा ५० हजारभन्दा बढी सैनिक, २०० लडाकु विमान, दुईवटा विमानवाहक जहाज र बमवर्षक विमानहरू सहभागी छन् भने थप सैन्य शक्ति इरानतर्फ प्रस्थान गरिरहेको छ।
कुपरले अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको तीव्रता सन् २००३ को इराक युद्धको सुरुवाती शक एण्ड अवे बमबारीभन्दा झण्डै दोब्बर रहेको बताएका छन्। यस भीषण हमलाबाट इरानको वायु रक्षा प्रणालीलाई गम्भीर रूपमा क्षति पुर्याउनुका साथै सयौँ ब्यालिस्टिक मिसाइल, लन्चर र ड्रोनहरू नष्ट गरिएको अमेरिकी दाबी छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानले पहिले आक्रमण गर्ने तयारी गरेको सूचना पाएपछि आफूले इजरायलसँग मिलेर प्रतिकारको आदेश दिएको स्पष्ट पारेका छन्, यद्यपि यो दाबी उनका कूटनीतिज्ञहरूको भनाइभन्दा केही फरक देखिएको छ । यता इरानले पनि इजरायल र अमेरिकी सैन्य अखडाहरूमा चौथो रातसम्म लगातार जवाफी हमला जारी राखेको छ। दुबईस्थित अमेरिकी दूतावास र फुजैराह बन्दरगाहमा समेत आक्रमणका खबरहरू आएका छन् ।
पछिल्लो तथ्यांक अनुसार शनिबारयता इरानमा मृत्यु हुनेको संख्या कम्तीमा ७८७ पुगेको छ। यसैबिच इजरायलले इरानको पवित्र सहर कोमस्थित एसेम्बली अफ एक्सपर्ट्सको भवनलाई समेत निशाना बनाएको छ। इरानले विश्वको महत्त्वपूर्ण तेल मार्ग हर्मुज स्ट्रेट बन्द गर्ने घोषणा गरेपछि राष्ट्रपति ट्रम्पले ट्याङ्करहरूलाई सुरक्षा दिन अमेरिकी नौसेना परिचालन गर्न तयार रहेको बताएका छन्।










प्रतिक्रिया दिनुहोस्