समाचार

उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या सात लाख ५० हजार नाघ्यो



काठमाडौँ, २० फागुन । काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढेको छ ।

चुनावका दिन भोलि आ–आफ्नो गृहजिल्लामा पुगेर मतदान गर्न मतदाताले काठमाडौँ उपत्यका छाड्ने क्रम बढेको हो ।

ट्राफिक प्रहरीका अनुसार चुनावका लागि उपत्यकाबाट बाहिरिने क्रम आज पनि जारी रहेको छ । सार्वजनिक यातायातका साधनहरू खचाखच भरिएका छन् भने निजी गाडीमार्फत जानेहरु पनि छन् ।

अहिलेसम्म सात लाख ५० हजारभन्दा धेरैले काठमाडौँ उपत्यका छाडिसकेको ट्राफिक प्रहरीले जनायेओ छ । आज पनि कतिपय बाहिरीने भएकाले यो संख्या थप बढ्ने अनुमान छ । आज मध्यरातिदेखि भने सार्वजनिक र पासबाहेकका गाडी चल्न पाउने छैनन् ।

भोलि मतदान नसकिएसम्मका लागि सरकारले गाडी चलाउन रोक लगाएको छ । यातायात व्यवस्थालाई थप सुरक्षित र व्यवस्थित बनाउन ट्राफिक प्रहरीले जनशक्ति बढाएको जनाएको छ । यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै राजमार्गहरूमा गस्ती बढाइएको र आवश्यकता अनुसारका क्षेत्रहरूमा विशेष निगरानी गरिएको ट्राफिक प्रहरीको भनाइ छ ।